जिल्ला सहकारी संघको नयाँ नेतृत्वबाट पदभार ग्रहण

पोखरा, ८ माघ । जिल्ला सहकारी संघ कास्कीको नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ । संघको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गराइएको हो । ४४औं साधारणसभाले अध्यक्षमा रविरमण तिवारी, वरिष्ठ उपाध्यक्षमा बलराम गौतम, महिला उपाध्यक्षमा सावित्री कोइराला, महासचिवमा छबिलाल लामिछाने, कोषाध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भएका थिए ।

राष्ट्रिय प्रतिनिधिमा तेजनारायण अधिकारी विजयी भएका थिए । सञ्चालक सदस्यहरुमा नवराज बराल, अम्बिका कुँवर, धर्मराज अर्याल, दीपक बास्तोला, अम्बिका गौतम र संगीता गौतम विजयी भएका थिए । लेखासमिति संयोजकमा महेश्वर अधिकारी, सदस्यमा धर्म तमु र बिना लोहनी निर्वाचित भएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष तिवारीले सहकार्य र सहमतिका साथ आफू अगाडि बढ्ने बताए । ‘सबैको साथ र सहयोगबाट सहकारी अभियानको नेतृत्व गर्छु,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा प्रदेश सांसद प्रभा कोइरालाले सहकारी अभियानबाट देशले समृद्धि हाँसिल गर्नसक्ने बताइन् । ‘सहकारीकर्मीहरुको भूमिका उत्साहजनक हुनुपर्छ,’ उनले भनिन्, ‘तीन चरणको निर्वाचन भइसकेको वर्तमान अवस्थामा सहकारीको भूमिका अझ महत्वपूर्ण छ ।’

कार्यक्रममा बोल्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्राचार्य बद्रिनाथ अधिकारीले स्थानीय तह र प्रदेश सरकारले सहकारीमैत्री नीति लिनुपर्ने धारणा राखे । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक तथा प्रदेश संयोजक भीम गुरुङ, निर्वाचन कमिटि संयोजक बालकृष्ण सुवेदी, संघका वरिष्ठ व्यवस्थापक भोजराज घिमिरे, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख केदारनाथ उप्रेती लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.