जुम्लामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न

 

पोखरा, २१ असार ।

जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य तथा आँखा शिविर सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा शिविर संचालन गर्दै आईरहेको छ । स्त्री तथा प्रसूति रोग र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा तिन दिने शिविर सम्पन्न भएको छ । असार १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर संचालन गरिएको हो ।

विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल ११४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । करिव १००० जनाको आँखा परिक्षण गरिएकोमा १०० जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । शिविरमा मोतिबिन्दुका ४९ जना विरामीको निःशुल्क अपरेशन समेत गरिएको छ । साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण भएको छ । विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्यनजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकले नै गरेको हो ।

सोही अवसरमा बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका रु. ५० हजार मूल्य वरावरको औषधि हस्तान्तरण गरिएको छ । । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने मार्फत तातोपानी शाखाका शाखा प्रबन्धक बिनोदकुमार आचार्यले औषधि हस्तान्तरण गरेका हुन् । औषधि हस्तान्तरणको अवसरमा गाउँपालिकाका अध्यक्ष न्यौपानेले ८ वडामा विभाजित गाउँपालिकाका अन्य वडाहरुमा पनि आँखा सम्बन्धि समस्या रहेकोले वडा स्तरमा पनि आँखा शिविर संचालनको लागि अनुरोध गरेका छन् ।

तातोपानी गाउँपालिकामा २०७५ बैशाख देखि बैंकले शाखा संचालनमा ल्याएको छ ।

You might also like

Comments are closed.