आर्थिक आवाज
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले झोलामा फारम बोकेर अनुदान खान खोज्नेहरुको अनुदान रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराद्वारा आयोजित तीन दिने ‘प्रांगरिक कफी उत्पादन, गुणस्तर व्यवस्थापन तथा बजारीकरण’ तालिमको उद्घाटन गर्दै मन्त्री थापाले झोलामा खोला बोकेजस्तै झोलामा कृषि फारम बोक्नेलाई अनुदान नदिने बताएका हुन् । यसअघी बास्तविक किसानले अनुदान नपाएको गुनासो हुँदै आएको छ । झोलामा कृषि फारम बोक्नेले ठूलठूला अनुदान लैजाने र बास्तविक किसानले फाट्टफुट्ट साना साना अनुदान पाउने गरेको किसानहरुको गुनासो आइरहेका बेला उनले यस्तो बताएका हुन् । यसअघी गण्डकी प्रदेश सरकारले अनुदानलाई व्यवस्थित र बास्तविक किसान खोज्न कृषकको वर्गीकरण गर्न शुरु गरेको जनाएको थियो ।
कार्यक्रममा मन्त्री थापाले बास्तविक किसानले अनुदान पाउनुपर्ने पक्षमा आफू रहेको बताउँदै भने,‘झोलामा खोला बोकेजस्तो झोलामा कृषि फारम बोकेर अनुदान खानेहरुलाई बेलैमा चिन्नुपर्छ, अबदेखी उनीहरुलाई अनुदान दिईन्न, बास्तविक किसानले सिस्टममा अनुदान पाउने ब्यबस्थाका लागि सबै लागौं ।’ झोलामा फारम बोकेर कृषि कर्म नगर्दा सोंचेजस्तो उत्पादन बढ्न नसकेको र त्यस्ता व्यक्तिले अनुदान पाउँदा बास्तविक किसान मर्कामा परेको उनको भनाई थियो ।
मन्त्री थापाले अब कृषिमा लगानीको समस्या नहुने बताए । गण्डकी प्रदेशमा तीन हजार पाँच सय सहकारी रहेको र तिनीहरु प्रत्येकलाई एक सहकारी एक नमूना उत्पादन तथा पूँजीको ३० प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएकाले अब कृषिमा लगानीको समस्या नहुने उनको भनाई थियो । तीन हजार ५ सय सहकारीले सबैले एक÷एक करोड कृषिमा लगानी गर्ने हो भने कुनैपनि बास्तविक कृषकले लगानी अभाव झेल्नुनपर्ने उनले बताए ।
मन्त्री थापाले गण्डकी प्रदेश कफी उत्पादन र यसको बजारका लागि सबैभन्दा उपयुक्त ठाउँ भएको दाबी गरे । गण्डकी प्रदेशमा रहेका ११ जिल्ला मध्ये ८ जिल्ला कफीका लागि उपयुक्त ठाउँ भएको र यो प्रदेशको पोखरा पर्यटकीय हब भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले कफीको अधितकम बजार रहेको उनको भनाई थियो । साथै गण्डकी प्रदेश सरकारले कफीलाई प्रमुख बालीको रुपमा राखेको र त्यसका लागि बजेट पनि छुट्याएको जानकारी गराए ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराका बोर्ड डाइरेक्टर लक्ष्मण पोखरेलले गण्डकी प्रदेश कफीका लागि उपयुक्त ठाउँ हुनुका साथै यहाँ कफीको पनि बजार राम्रो रहेको बताए । अर्गानीक र गुणस्तरीय कफी उत्पादन गर्दै बिदेश निर्यात गर्न सके कफी ब्यबसायले नेपालको समृद्धीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालबाट न्यूनतम ६ हजार मेट्रिक टनदेखी ८ हजार मेट्रिक टनसम्म कफी बिदेश निर्यात गर्नसक्ने अवस्था रहेपनि हाल केवल ४ सय ६६ मेट्रिक टन कफी निर्यात भइरहेको उनले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख लोकेन्द्र बोहराले कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा कफी व्यवसायीक रुपमा उत्पादन भइरहेको बताए । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को पहिचान कफी हुन सक्ने बताए । हाल टुक्रे टुक्रे कफी खेती भइरहेको बताउँदै उनले हेक्टर÷हेक्टरमा कफी लगाएर व्यवसायीक रुपमा कफी उत्पादन हुन नसकेको बताए । उनले वनमा कफी लगाउँदा वन नमासिने बरु छहारीको मात्र प्रयोग हुने भएकाले वन क्षेत्रमा कफी लगाउन दिने नीति ल्याउनुपर्नेमा जोड दिए ।
नेपाल कफी संघ गण्डकी प्रदेशका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष आनन्द सुवेदीले उत्पादन बढाउने र खपत पनि यहिं गर्नुका साथै बिदेश पनि निर्यात गर्न सके यसले देशको मुहार फेर्न सघाउने बताए । यद्वपी गाउँमा युवाहरु नहुनु, भनेको समयमा मजदुर नपाउनु, किराहरुले दुःख दिनुलगायतका कारणहरुले सोंचेजस्तो यसको उत्पादन नभइरहेको उल्लेख गरे ।
कृषि प्राविधिक नगेन्द्र सुवेदीले कफी नगदे बाली भएको, यो उच्च वर्गले प्रयोग गर्ने भएकाले यसको मुनाफा बढी हुने बताए । यसको उत्पादनमा बृद्धि गरेर बिदेश निर्यात गर्न सके अहिले नेपालले भोगिरहेको व्यापार घाटा कम गर्ने उनले दाबी गरे ।
कफी उत्पादनमा बृद्धी गर्दै त्यसको बजारीकरणमा सघाउ पु¥याउने उद्धेश्यले पोखरामा कफी सम्बन्धी त्रिदिवसीय तालिम गरिएको हो । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ‘प्रांगरिक कफी उत्पादन, गुणस्तर व्यवस्थापन तथा बजारीकरण’ सम्बन्धी तालिमको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले कफीको विरुवामा पानी हालेर उद्घाटन गरेका थिए ।
शनिबारदेखि शुरु भएको तालिम सोमबारसम्म चल्नेछ । तालिममा गण्डकी प्रदेशका कास्की, तनहुँ, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, गोर्खा, ५ नम्बर प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानका कफी सहकारी उत्पादक संघका अध्यक्ष, पदाधिकारी वा व्यवस्थापकको प्रतिनिधि, कास्कीका उत्पादक, सहकारी संघका अध्यक्ष वा पदाधिकारी वा व्यवस्थापक र बजारीकरणमा लागिरहेका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा कफी विज्ञ डा.राजकुमार बञ्जारा, त्रिभूवन विश्वविद्यालयका प्राध्यापक तथा व्यवस्थापन विज्ञ डा.अच्यूत ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराका बोर्ड डाइरेक्टर लक्ष्मण पोखरेल, चन्द्र पुरी र नगेन्द्र सुवेदीले सहजीकरण गर्नेछन् ।