टाइपिष्ट, खर्दार अनि चक्लेटका बादशाह

वाशुदेव मिश्र

चार रुपैयाँ नभएर पढाई छोड्दाको पीडा, टिक्नै नसकेर मुग्लान भासिन लाग्दाको क्षण, जागिरे जीवन, उद्योग खोल्नलाग्दा छिमेकीले बहुलायो भन्दाको रिस, छोरालाई पिठ्यूँमा बोकेर गरेको अठार घन्टे मेहनतले दिएको वर्तमानको सफल जीवन अनि बैराग्य । संघर्ष र सफताको कथाबीचमा उद्योगपति गणेशबहादुर श्रेष्ठले अतित संझदै भने, ‘इमान्दार र लगनशील हुने बाहेक केही गरिएनछ ।’

गणेशबहादुर श्रेष्ठ, नेपालकै सफल व्यापारिक घराना लक्ष्मी हाउसका अध्यक्ष । नेपालको कन्फेक्सनरी उद्योगका एकमात्र बादशाह अनि सामाजिक कार्यकर्ता ! पिताको अनुहार नै देख्न नपाएको थकथकी, आमा पुतलीदेवीले चलाएको पुष्ठकारी पसल, दाई बुद्धिबहादुरको मार्ग निर्देशन अनि उद्योग खोल्न हौस्याउने काका तिलकबहादुर बजिमय लगायतका पात्रहरु संझदै र आँसु खसाल्दै गर्दा पनि उनले आफू ठूलो मान्छे हुँ भन्ने लाग्दै नलागेको बताए ।

‘मैले त दाईको मार्ग निर्देशनमात्र पच्छ्याएको हुँ, सबै दाई (बुद्धिबहादुर) कै योगदान हो यो ।’ उनले त्यसो भनेपछि किन बुद्धिबहादुरबाटै शुरु नगर्ने त ? आमाको अ‍ैँठे बनाउने र सेल पोल्ने पसलको सेरोफेरोमा बाल्यकाल बिताएका बुद्धि र गणेशले खासै धेरै पढ्न पाएनन्, जागिर खान मिल्ने पढाई भने उनीहरुले रात्री स्कूलबाट पनि पूराचाहिँ गरे । बरु उनीहरुले सक्ने भएपछि होटल खोले । १८ सालतिर पोखरा बहुमुखी क्याम्पसका एकाउन्टेन्ट अनि पछि बाटो बनाउन आएको भारतीय कम्पनीका टाइपिष्ट बुद्धिबहादुर र भूमिसुधार कार्यक्रमका खर्दार गणेशबहादुरको जीवनमा केही गर्छु भन्ने भए पनि यतिबिघ्न सफल भइन्छ भन्ने चाहिँ साँच्चै थिएन ।

खर्दारको जागिर छोडेर पाल्पातिर बरालिएका गणेशलाई दाईले घर फर्काए । जागिर मात्र हैन पाल्पाको रसरङ्ग पनि छुटेकाले खुव बिरक्तिए उनी । दाईको बुटबलमा जागिर छँदै थियो । भाइले पुस्तौली घर बागबजारमा पुष्टकारी बनाउन खोजे । चिया बेचे तर बिहेबारी गरिसकेका गणेशले सोचे जस्तो हुँदै भएन । माइलो छोरो (निरञ्जन) जन्मेपछि घर नै बेचेर चितवन जान खुट्टा उचालेकै बेला सल्लाह गर्न बुटवल पुगेपछि भने दाजुभाइको जीवनले नयाँ मोड नै लियो ।

‘साँझ रक्सी खाएर अब के गर्ने भनेर घोत्लियौँ तर उपाय निस्केन’, गणेशले सुनाए । त्यहीँ भेट भएका भारतीय नागरिक चन्द्रभालको मीठाई पसल घुम्दैगर्दा आधुनिक कटर मेसिनले मीठाई काटेको देखेपछि भने पुष्टकारी बनाएका दाजुभाइलाई लोभ लाग्यो । उनीहरुले चन्द्रभालसँग ‘कटर’ मागेका के थिए, चन्द्रभालले त मेसिन अनि काम गर्ने मान्छे नै खटाईदिने कुरा गरे । अनि त के थियो ? खुबै जोसिए दाजुभाइ । मीठाई उद्योग खोल्ने सहमति बन्यो । दाइ र चन्द्रभाल बनारसतिर लागे, गणेश पोखरा फर्के । घरमा सबै दंग । घर पछाडिको खरको टहरो भत्काएर उद्योग राख्ने ठाउँ बनाए उनले । चक्लेट कुुन चराको नाम हो भन्ने नै थाहा नभएका छिमेकीले भएको घर पनि भत्काउने ‘बहुला’ भनेर खिसी गरे ।

तीस सालतिरको समयमा पनि उनले हरेश खाएनन् । हौस्याउने तिलकबहादुर बजिमयले खोजिदिएको ६ हजार ऋण लिएर काम शुरु गरे दाजुभाइले । चुलो बनाए, मेसिन गाडे अनि काम शुरु गरे । ‘पहिलो दिन त माल राम्रो निस्क्यो तर दोस्रो दिन मेसिनले काम गरेन’, उनले अतित संझदै भने, ‘काका (तिलकबहादुर) ले झारफुक गरे । संयोग, फेरि उत्पादन हुन थाल्यो ।’

बजारमा नेबिको चक्लेटको बोलबाला थियो । त्यस्तै मीठाई बनाउनु पर्छ भनेर खुब कस्सिए उनीहरु, नढाँटी भन्दा नक्कल नै गरे । आधा किलोग्रामको प्याकेट ६ रुपैयाँमा बेच्थे उनीहरु । नेपाली समाज न हो, खुट्टा तान्नेहरुको कमी थिएन ।

‘सडक पेटीमा पनि हाम्रो माल राखिएन’, गणेशले सुनाए । सहयोग गर्नेहरुको आड–भरोसा र मेहनतको भरमा ‘बनारसी स्वीट्स’ ले बजार राम्रै पायो त्यो बेला । छोरा बोकी मेसिन चलाउनु, साइकलमा माल बेच्दै पोखरा डुल्नु त्यो बेलाको दिनचर्या थियो गणेशको । बनारसबाट कच्चा पदार्थ ल्याउनु पथ्र्यो । नेबिको मीठाईको जस्तै गुणस्तर बनाउने, कसरी बजारमा माल कटाउने भन्ने मात्र ध्याउन्नले दुई–तीन वर्ष बितेको पत्तै भएन । दाइले समेत जागिर छोडे र ब्यवसायमा नै होमिए । त्यो बेलासम्म उनको पेशामा बाहिरका कामदार थिएनन्। सबै काम घरकाले नै गर्दथे ।

३३ सालमा उद्योग दर्ता गराउन वसन्त उदासले लेखेको निवेदन लिएर घरेलु कार्यालय जाँदा कन्फेक्सनरीको नाम सुनेर कर्मचारी नै झस्किएको मीठो संझना पनि उनीसँग ताजै छ । कर्मचारीले नाम नै नबुझेपछि ‘लक्ष्मी मीठाई भण्डार’ को नाममा बैधानिक रुपले शुरु भएको उद्योेग नै अहिलेको लक्ष्मी हाउस भएको हो ।

करिब १५ हजार लगानीमा तीस सालमा शुरु गरेको व्यवसायले राम्रै कमाई गरेपछि सेमी अटोमेटिक मेसिन किनेर काम शुरु गर्दाको क्षण पनि अनौठो भएको गणेशको अनुभव छ । त्यसैबेला उनीहरु अरुलाई रोजगारी दिनसक्ने भइसकेका थिए । ‘बजारमा अब चक्लेट चल्छ’ भन्ने उनीहरुलाई लागिसकेको थियो । त्यही मेसिनबाट जय मालक्ष्मी कन्फेक्सनरीको नाममा अर्को फर्म दर्ता गरी ‘अरेन्ज बल र रिमझिम बल’ जस्ता ब्राण्डमा पनि मीठाई उत्पादन शुरु गरे उनीहरुले। यी ब्राण्डहरु अहिले पनि बजारमा चलिरहेका छन् ।

मेहनत जस्तो थियो, कमाई पनि त्यस्तै भएपछि खुसी र उत्साही नहुने त कुरै भएन । बजारमा चक्लेटको माग बढे पनि उनीहरुले गुणस्तरमा भने संझौता गरेनन् । ‘दाई सधैँ गुणस्तरको सामान बनाउनुपर्छ भन्नुहुन्थ्यो’, गणेशले भने, ‘अरु मीठाई पानीमा हाल्दा गल्थ्यो तर हाम्रो उत्पादनमा त्यो ढिलो हुन्थ्यो ।’ उनले त्यसो भनिरहँदा पनि नेबिकोका उत्पादनलाई ‘गुरु’ भन्न भने बिर्सिएनन् । सफलताको अहिलेको अवस्थामा समेत उनले आफ्ना उत्पादनको गुणस्तरमा संझौता नगरेको दावी गरे ।

लक्ष्मी हाउसको विकसित रुपसम्म आइपुग्दा मीठो खाना चाहिने गणेश र राम्रो लगाउन पर्ने बुद्धिको चरित्रले खुबै काम ग¥यो । बजारमा निस्किएका प्रतिस्पर्धीहरुले समेत उनीहरुलाई काम गर्न झन् उत्साहित गरे । राजदरबारको वरिपरी रहेकाले समेत चक्लेट बनाउन थालेपछिको अवस्था आएपछि त गुणस्तरमा संझौता नै नभएको गणेशले सुनाए । उनीहरुले डायमण्ड स्वीट्स नाम दिएर काठमाडौंमा मात्र होइन ‘ङ्या छिरी’ नाम दिएर तिब्बतमा समेत मिठाई पठाए । ङ्या छिरीको नेपाली अर्थ माछा मीठाई हुन्छ ।

पछाडि फर्केर हेर्न नपर्ने गरी फस्टाएको व्यापारसँगै ३६ सालमा एम्बेसेडर गाडी किनेको क्षण पनि गर्वको विषय भएको गणेशले सुनाए । ३० सालदेखि ४२ सम्म आइपुग्दा लक्ष्मी सोप एण्ड केमिकल इन्डस्ट्रिजबाट लक्ष्मी सोप नामक साबुन उत्पादन गरेको, लक्ष्मी सफ्ट ड्रिक्स उद्योग खोलेर लेमना ब्राण्डको पेय निकाल्दा असफलता भोगेपनि मीठाईले भने लक्ष्मी हाउसलाई धोका दिएन ।

आध्यात्मिक भएकाले लक्ष्मीलाई आफ्नो ब्राण्ड बनाएको बताउने गणेश आफै अध्यक्ष रहेको लक्ष्मी हाउसको छानामुनि अहिले सुजल फुड्स, सुजल फुड्स डेरी डिभिजन, लक्ष्मी कन्फेक्सनरी, जया कन्फेक्सनरी, सुजल प्लास्टिक, जयमा लक्ष्मी इन्टरनेसनल प्रालि, जया प्याकेजिङ लगायतका उद्योगधन्दा रहेका छन् । छाताभित्र आफन्त मिसिएपछि यसले ठूलो रुप लिएको हो ।

६ हजार ऋणमा थालेको उद्योगमा अहिले कति लगानी छ गणेशलाई नै थाहा छैन । छोराहरुको जिम्मामा काम छोडेका उनलाई पहिलेको जस्तो नाफा नभएको बरु परिचयको घेरा फराकिलो भएको भने अनुभव छ । नेपाली बजारमा मात्र नभएर अहिले भारत र अन्य देशमा पनि जान्छ लक्ष्मी हाउसको उत्पादन । पोखरामा नै बसेर सडकबाट सफल उद्योगपति बनिसकेर पनि ईश्वरभक्तिमा लीन दाजुले ब्यवसाय नै छोडेर देश दर्शन गर्न थालेपछि भाइको सक्रियता पनि घटेको छ आजकल । ‘दाई मलाई फेरि व्यवसायमा फसाएर दुःख न’दे भन्नुहुन्छ’, भोगीबाट जोगी बनेका आफ्ना दाईलाई संझदै गणेश सुस्तरी फुस्फुसाए, ‘दिनभर माल बेचेर साँझ एक गिलास ऐला खाएको त्यो बेलाको सन्तुष्टि त मसँग पनि छैन ।’

आफूले उद्योग सुरु गर्दा खरिद गरेको एउटा नटबोल्ट पनि नबेचेका श्रेष्ठ दाजुभाइले संघर्षलाई रमाइलो र कामलाई पूजा गरेको परिणाम नै हो अहिलेको लक्ष्मी हाउस । उद्योगी बन्नु, उद्योग खोल्नु अनि रोजगारी दिनु धर्म भएको उनीहरुको ठहर छ। उद्योगी बने घाटा नलाग्ने पनि उनीहरुको ठहर छ ।

‘तर बिरुवा नै मास्ने गरी तडकभडक र घमण्ड गरेर उद्योगी भइँदैन’, गणेशबहादुर भन्छन्, ‘उद्योग भनेको चल पूँजी हो, मेसिन होइन ।’ बर्तमानमा उद्योगीलाई कालाबजारियाको रुपमा हेरिने चलनदेखि भने उनी रुष्ट छन् । सबै ब्यवसायीलाई एउटै श्रेणीमा राख्न नमिले पनि सच्चा बनेर कर तिर्दा पनि जस नपाउनु नेपालको बिडम्बना भएको उनको ठम्याई छ ।

उमेर घर्किसक्यो, अठार घन्टा काम गर्दा हातमा परेका ‘ठेला’ र दुःखका ति दिन झल्झली आँखामै छन् । त्यसोभए अब के त ? अलिकति पनि दम्भ नदेखाई दाइको पथमा हिंडेका भाइले थपे–समाज सेवा । त्यसो भन्दैगर्दा उनका भावुक आँखा भित्तामा झुण्ड्याइएको आफैले स्थापना गरेको लक्ष्मी विद्या पदक बाँड्दै गरेको आफ्नो र पोखरा उपमहानगरपालिकाले दिएको पोखरेली नवरत्नको रुपमा सम्मान थाप्दै गरेको दाइको फोटो हेरेर टोलाइरहेका थिए ।

साभारः व्यापार पत्रिका

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...