टानको सचिवालय व्यवस्थित गर्दै सदस्यहरुको व्यावसायिक हकहितमा सक्रिय बन्छु : तिवारी

मीलन तिवारी
सचिव पदका उम्मेदवार
टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको १५औं अधिवेशन तथा २५औं साधारणसभा साउन २६ गते शनिबार पोखरामा हुँदैछ । अधिवेशन मिति नजिकिँदै गर्दा टान पदाधिकारीमा २ वा त्यो भन्दा बढीको उम्मेदवारी परिसकेको छ । यसैक्रममा टानको कार्यसमिति सदस्य तथा तालिम विभागको संयोजक भएर काम गरिसकेका युवा व्यवसायी मीलन तिवारीले सचिव पदमा उम्मेदवारी दिएका छन् । बिगत एक दशकदेखि पोखरामा फोर व्रदर्श एडभेन्चर ट्राभल प्रालि सञ्चालन गरिरहेका तिवारीले विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका छन् । तिवारीसँग आफ्नो उम्मेदवारीको कारण तथा प्रतिबद्धताहरु लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीको सारः

टानमा सचिव पदमा उम्मेदवारी दिनुको उद्देश्य के हो ?
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको बर्तमान कार्यसमितिको सदस्यमा रहेर काम गरिरहँदा म तालिम बिभागको संयोजकको जिम्मेवारीमा पनि थिएँ । उक्त पदमा रहेर सदस्य कम्पनीहरुको हकहितका लागि आफ्नो तर्फबाट विभिन्न तालिमहरु आयोजना गर्न सफल भएँ । पर्यटनको पदयात्रा क्षेत्रमा विभिन्न खालका चुनौतीहरुको सामना गर्दै, पदयात्रा संरक्षण तथा सुधारका आवश्यकता, पर्यटन विकासको प्रवद्र्धन, व्यावसायिक प्रतिस्पर्धाका कारण देखिएका समस्याहरुको न्युनीकरण एवं पेशागत हकहितको संरक्षण गर्ने उद्देश्यका अनुरुप सचिव जस्तो महत्वपूर्ण पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

सदस्यहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
बिगतमा मैले गरेका कामहरु सदस्यहरुका लागि धेरै नै फलदायी रहेको हुँदा सम्पूर्ण सदस्य साथीहरुले मेरा कार्यहरुकोे प्रोत्साहन गर्नुभएको छ, जसले गर्दा आगामी अधिवेशनका लागि उहाँहरुकै सल्लाह र सुझाव अनुरुप मैले उम्मेदवारी दिएको हुँ । सदस्यहरुको मन जित्न सफल भएकाले निर्वाचनमा उहाँहरुका पूर्ण सहयोग पाउनेमा म विश्वस्त छु ।

सचिव भएपछिका कार्ययोजनाहरु के–के बनाउनुभएको छ ?
टानको महत्वपूर्ण र जिम्मेवारी बढी भएको पद सचिव हो । साथीहरुको मतबाट विजयी हुन सकेमा १५औं अधिवेशन तथा २५औं साधारणसभाले पारित गरेका आगामी कार्ययोजनाहरुलाई पूर्ण रुपमा सफल पु¥याउने, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको समन्वयलाई अगाडि बढाउने, पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग टानकोे भूमिकालाई अझ प्रगाढ बनाउने, पदयात्रा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न पलह गर्ने हिसाबमा म आफ्ना कार्यहरुलाई अगाडि बढाउने छु । पदीय जिम्मेवारी अनुसार टानको सचिवालयलाई अझ व्यवस्थित गर्दै सदस्य कम्पनीहरुलाई आवश्यक सूचनाहरु समयमा नै उपलब्ध गराउने छु । टानका हरेक गतिविधिलाई समेटेर समय समयमा इन्युज लेटर प्रकाशित गर्ने मेरो प्रतिबद्धता छ ।

मीलन तिवारी, सचिव पदका उम्मेदवार, टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा

यस अगाडि कार्यसमिति सदस्य र तालिम बिभाग प्रमुख हुँदा के–कस्ता कामको नेतृत्व गर्न सफल हुनुभयो ?
टान कार्यसमिति सदस्यमा रहँदै गर्दा विभिन्न तालिमहरुको संयोजकको भूमिका निर्वाह गर्न सफल भएँ । सदस्य कम्पनीहरुको व्यवसाय प्रवद्र्धनका लागि कर, लेखा, कार्यालय व्यवस्थापन, इमार्केटिङ टे«निङ लगायतका तालिम आयोजना भए । भुटान तिब्बेत टुर सम्बन्धी वर्कसप तथा पुम नेदरल्याण्ड अन्तर्राष्ट्रिय संस्थासँग दीर्घकालीन रुपमा तालिम प्रदान गर्ने सम्झौता गरी सदस्य कम्पनीका सञ्चालकहरुलाई बिजनेस म्यानेजमेन्ट तालिमको समेत संयोजन गरेको थिएँ । दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले ३ सय ३२ जनाका लागि १ महिने ट्रेकिङ गाइड तालिम सफलतापूर्वक मेरै नेतृत्वमा सम्पन्न समेत भइसकेको छ । आगामी दिनमा अझै धेरै तालिम तथा सदस्य संस्था केन्द्रित काम गर्ने मेरो सोच छ ।

पदयात्रा व्यवसायीले भोग्नुपरेका समस्याहरु के–के छन् ?
पदयात्रा क्षेत्रमा धेरै समस्याहरु छन् । प्रमुख समस्याको रुपमा पदयात्राकै रुटमा मोटरबाटोहरु खोलिएका छ, जसले गर्दा पदयात्राका रुटहरु बिस्थापित भएका छन् । लामो पदयात्राका रुटहरु छोट्टिएका छन् । हामी विकासको पक्षमा छौं, तर नेपालको पर्यटनमा पदयात्राको योगदान महत्वपूर्ण रहेकाले यस्ता मोटरबाटोहरु पदयात्रालाई नछुने तथा असर नगर्नेगरी खनिनुपर्छ भन्ने हाम्रो धारणा छ । नेपालमा पर्यटनको विकास हामीले सोचेजति भएको छैन, जसले गर्दा नेपाल आउने पर्यटकको संख्या त्यतिधेरै बढेको हामी देख्दैनौं । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको जति योगदान छ, त्यति योगदान राज्यका निकायहरुको हुन सकेको छैन । पदयात्रा व्यवसायका लािग दक्ष जनशक्तिको अभाव छ । भाषा जानेको, भूगोल तथा पदयात्राको रुट जानेका ट्रेकिङ  गाइडहरुको अभाव छ । पछिल्लो समय देश संघीयतामा गइसकेको अवस्थामा व्यवसायीहरु दोहोरो करको मारमा परेका छन्, जुन दुःखद छ । लगानीमैत्री वातावरण सिर्जना गरी पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने राज्यको दायित्व भएकाले यसका लागि टानले आवश्यक पहल गर्नेछ । करका नीतिहरुलाई हामीले आफ्नो ठाउँबाट सहजीकरण गर्नेछौं । हरेक स्थानीय तहले आफ्नो पाराले जथाभावी करका दायराहरु बढाइरहेकाले पदायत्रा व्यवसायीहरु मर्कामा परेका छन् । जसका कारण नेपालमा पर्यटकलाई समेत समस्या हुने भएकाले आगामी दिनमा पर्यटकको संख्या समेत घट्छकि भन्ने डर छ । यसप्रति राज्य जिम्मेवार हुनुपर्छ । यी विविध समस्याहरु माथि आवश्यक सहजीकरण गरी व्यवसायीमैत्री वातावरण सिजर्ना गर्नका लागि मेरो भूमिका जिम्मेवारी पूर्वक रहनेछ ।

You might also like

Comments are closed.