टीम स्पिरिटलाई उच्च महत्व दिनेछु

म सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर भएको एक वर्ष बितेको छ । मेरो एक वर्षीय कार्यकाल अत्यन्त सफल भयो भन्ने मेरो ठम्याई छ । मलाई सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा मत दिएर जिताउनु भएको यहाँहरुले नै हो । मैले यो बीचमा राम्रा काम गरेको छु भने त्यो यहाँहरुको माया, हौषला र प्रेरणाले नै हो, त्यसैले यो सफलतामा यहाँहरुकै योगदान छ । मैले यहाँहरुले दिएको मतलाई शिरोधार्य गर्दै आफ्नो पदीय जिम्मेवारी निष्ठापूर्वक निभाएको मात्रै हुँ । मैले आफूले पाएको मतलाई सम्मान गर्दै आफ्नो कार्यकाललाई स्वर्णिम बनाउने प्रयास गरेँ । र अब फष्र्ट भाइस डिष्ट्रिक्ट गभर्नर बनेर सोही अनुभवलाई सदूपयोग गर्ने तयारी स्वरुप उम्मेद्वारी दिएको छु ।

म फष्र्ट भाइस डिष्ट्रिक्ट गभर्नर बनेपछि निम्न प्रतिबद्धताहरु पूरा गर्ने बाचा यहाँहरु समक्ष गरिसकेको छु।

मेरा प्रतिबद्धताहरु :
क्लब सञ्चालनको क्रममा टीम स्पिरिटलाई उच्च महत्व दिएर डिष्ट्रिक्टको मान र प्रतिष्ठा उच्च राख्न क्रियाशील हुनेछु ।

वर्ष २०१९/२० का डिष्ट्रिक्ट गभर्नर लायन ईन्दु लम्सालले अह्राएका कार्यहरु निष्ठापूर्वक आफ्नो क्षमताले भ्याएसम्म निभाउनेछु ।

वर्ष २०१९/२० को कार्यकाल स्वर्णिम बनाउन वर्षका कार्यक्रमहरु हामी सबैका हुन् भनेर अहोरात्र खटिनेछु र अन्य साथीहरुलाईसमेत सँगसँगै लिएर अघि बढ्नेछु ।

अग्रजहरुले दिनुभएको देनलाई सम्मान गर्दै वर्षभरी लायानिज्म विकास र बृद्धिका लागि खटिनेछु ।

हाम्रो डिष्ट्रिक्टमा भएका ११ हजार भन्दा बढी लायन्सहरुको भावना बुझेर तपाईं सबैको आत्मीय मित्र बनेर नेतृत्व प्रदान गर्नेछु ।

लायन वर्षभरी नै हरेक क्लब, पदाधिकारी, क्याविनेटका पदाधिकारीहरुसँग सम्बन्ध गाढा बनाई कार्यहरु गर्नेछु । मलाई वर्ष २०२०–२०२१ का कार्यक्रमहरु केकस्ता ल्याउने तयारीसमेत गर्न यो सहयोगीसमेत हुने विश्वास लिएको छु ।

सबै क्लब, क्लबका पदाधिकारीहरुलाई आवश्यक पर्ने सहयोग, सल्ला र सुझाव दिन हरपल, हरदम तयार रहनेछु ।

अन्तर्राष्ट्रिय क्लबहरुसँग क्लब ट्वीनिङलाई महत्व दिएर हरेक क्लबहरुलाई अन्य देशका क्लबहरुसँग भाइचारा सम्बन्ध स्थापित गर्ने कार्यको थालनी गर्नेछु । माइलायन, माइलायन एप, रिपोर्टिङ, हरेक क्लबहरुको सोसल मिडिया मार्केटिङ गर्नका लागि सपोर्ट चाहिएमा सँधै सहयोगी बन्नेछु ।

हाम्रो डिष्ट्रिक्ट ठूलो भइसकेको छ यसलाई व्यवस्थापन गर्न रिडिष्ट्रिक्टिङ छिट्टै गर्नुपर्नेछ । अतः ईन्दु म्याडमको पालामा कार्यकालको शुरु देखिनै अफिसियल रुपमा अगाडि बढाएर मेरो पालामा सम्पन्न गर्नेगरी सो कार्यको अफिसियल थालनी गर्ने वातावरण तयार गर्नेछु ।

कसैलाई होच्याएर होइन सहयोगी बनेर, समाज रुपान्तरणमा म र वर्ष २०१९–२०२० का डिष्ट्रिक्ट गभर्नर लायन इन्दु लम्साल हाम्रो डिष्ट्रिक्ट र सबै क्लवहरुको बृहत्तर विकास गर्नका लागि सँधै एक भएर सबै लायन मित्रहरुको अभिन्न मित्र बनेर हाम्रो डिष्ट्रिक्टलाई हाँक्नेछौं ।

सुन्दर नगरी पोखरामा सम्पन्न हुने हाम्रो डिष्ट्रिक्टको सातांै कन्भेन्सनमा भेटौं, सहभागी हौं, हर्षोल्लासपूर्वक कन्भेन्सन सफल पारौं, हामी सबै ‘हामी सेवा गर्छौं’ भन्ने भावनाले लायन्सका सदस्य बनेका हौं । यहाँहरुको शतप्रतिशत ‘यस भोट’को आशासहित बैशाख १३ र १४ गते पोखरामा भेटौं ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.