पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरामा पछिल्लो समय लागु गरिएको ट्राफिक व्यवस्थापनप्रति असन्तुष्टी व्यक्त गरेको छ । संघले पार्किङ व्यवस्थापनको नाममा सहरका विभिन्न ठाउँमा ‘पार्किङ निषेध’ गरिँदा त्यसले व्यापार÷व्यवसायमा प्रतिकूल असर परेको तथा भित्री सडकमा पार्किङ बढ्दा त्यहाँ एम्बुलेन्सजस्ता अत्यावश्यक बाहनहरु प्रवेशमा कठिनाई भएको दावी गर्दै सो व्यवस्थाप्रति पुनरावलोकन गर्न माग पनि गरेको छ ।
पोखरा महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पछिल्ला दिनहरुमा पोखराका मुख्य बजार क्षेत्र र अन्य सडक क्षेत्रमा पार्किङ निषेध गरेको छ । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलद्धारा विहीबार जारी विज्ञप्तिमा कतै एकतर्फी त कतै अनावश्यक रुपले पार्किङ निषेध स्थानको किटान गर्र्नाले सर्वसाधारण अनावश्यक दण्ड–जरिवाना तिर्न बाध्य मात्र भएका तथा व्यवसायमा प्रतिकूल असर परेको जनाएको छ ।
विज्ञप्तिमा संघले विगतदेखि नै ट्राफिक व्यवस्थापन तथा पार्किङ स्थल निर्माणको विषय उठाउँदै आएको उल्लेख गर्दै सडकमै पार्किङ गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने माग गरिएको छ ।
‘पोखरा उद्योग वाणिज्य संघ, सडक सवारी गुड्नकै लागि हो र फुटपाथ बटुवा हिँड्नकै लागि मात्र हो भन्ने कुरामा स्पष्ट छ । यो कुरा त्यतिबेला मात्रै सम्भव हुन्छ,जुनबेला यथोचित रुपमा पार्किङस्थलको व्यवस्थापन हुन्छ भन्ने कुरामा पनि हामी स्पष्ट छौँ’ विज्ञप्तिमा भनिएको छ,‘ तर,सहरका मुख्य सडकहरुमा नो पार्किङको बोर्डहरु झुन्ड्याउदा त्यसले अन्य भित्री साँघुरा सडकहरुमा पार्किङको चाप बढ्न गई झन सडक अस्त व्यस्त भइरहँदा कुनै अकल्पनीय दुर्घटना हुदामा एम्बुलेन्स दमकल को साथै अन्य सम्मेदनशील साधनहरुको सहज आवत जावत हुनबाट समेत बन्चित देखिन्छ ।
पार्किङस्थलको व्यवस्थापन बिना नै सहरका विभिन्न ठाउँमा ‘नो पार्किङ’को बोर्ड झुड्याउनु व्यवहारिक हैन भन्ने कुरामा हामी अझ स्पष्ट छौँ ।’ विज्ञप्तिमा राज्यलाई कर तिर्ने व्यवसायीहरुलाई प्रताडित नबनाउन पनि आग्रह गरिएको छ ।
Comments are closed.