ट्रेड मलको दसैं तिहार उत्सव, बम्पर उपहारमा यामाहा एफ.जेट.एस

आर्थिक आवाज
पोखरा, २ असोज । पोखराको सबैभन्दा ठुलो व्यावसायिक भवन पोखरा ट्रेड मलले नेपालीहरुको महान पर्व दशैं, तिहार, छठलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । बिगत वर्षहरुमा पनि विभिन्न उपहार योजना ल्याएको मलले यसपटक ग्राहकलाई बम्पर उपहार अन्तर्गत १५० सिसी क्षमताको यामाहाको एफ.जेट.एस मोटरसाइकल प्रदान गर्ने गरी उपहार योजना सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी मलले उपहार योजना सार्वजनिक गरेको हो । ५ जनाले डोकोभरी उपहार प्राप्त गर्न सक्ने दसैंतिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए । हरेक १५ दिनमा पाक्षिक उपहारका रुपमा ज्याकपट उपहार ५० हजार रुपैयाँ एक जनालाई प्रदान गरिने उनले बताए । ‘साथै डोकोभरी उपहार २ जनालाई प्रदान गरिनेछ,’ उनले भने ।

योजना अवधिभर ४ जनाले जनही ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । अन्य ग्राहकका लागि लाखौं रुपैयाँ बराबरको नगद तथा सपिङ भौचरको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उपहार योजनामा सहभागी हुन ग्राहकले मल भित्रका जुनसुकै पसलबाट न्युनतम ५ सय रुपैयाँ बराबरको सपिङ गर्नुपर्नेछ । ५ सय रुपैयाँको सपिङमा एउटा कुपन र २ हजार रुपैयाँको सामान खरिदमा ३ वटा कुपन ग्राहकले पाउनेछन् । ५ हजार रुपैयाँको खरिदमा ग्राहकले १० वटा कुपन प्राप्त गर्नेछन् ।

१० वटा कुपन मलभित्र रहेको काउन्टरमा जम्मा गरेपछि ग्राहकले ज्याकपट कुपन प्राप्न गर्ने त्रिपाठीले जानकारी दिए । ज्याकपट कुपन काउन्टरमा रहेको बाकसमा जम्मा हुनेछ । १५ दिनसम्म जम्मा भएको ज्याकपट कुपन मध्यबाट भाग्यमानी ग्राहकलाई ५० हजार रुपैयाँ बराबरको नगद तथा सपिङ भौचर प्रदान गरिने बताइएको छ । २ जनाले डोकोभरी उपहार प्राप्त गर्नेछन् । मलको उपहार योजना असोज ५ गते सुरु भइ मंसिर ४ गतेसम्म जारी रहने बताइएको छ । मंसिर ८ गते बम्पर उपहार छनौट गरिनेछ ।

रचनात्मक काम गर्ने उद्देश्यले उपहार योजना सञ्चालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नाफा मात्र कमाउने उद्देश्य नलिई सामाजिक उत्तरदायित्व बहन गर्नका लागि पनि विभिन्न समयमा उपहार कार्यक्रम लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक मीनराज काफ्लेले बताए । नियमित तथा अन्य ग्राहकलाई आकर्षण गर्न उपहार कार्यक्रम प्रभावकारी विश्वास गरिएको छ ।

पर्याप्त पार्किङको सुविधासहित सञ्चालित मलको एउटै छानामुनी सम्पूर्ण सामान उपलब्ध छ । २०७२ असोज २६ गते सञ्चालनमा आएको मलमा नुनदेखि सुनसम्मका सम्पूर्ण सामान उपलब्ध रहेको अध्यक्ष विन्दुकुमार थापाले बताए । ‘एउटै छानामुनी सम्पूर्ण सामान उपलब्ध रहेकाले मलले ग्राहकको मन जितेको छ,’ थापाले भने ।

मलभित्र फेन्सी, रेडिमेट, ग्रोसरी सामानका साथै २ वटा मल्टिप्लेक्स सिनेमाहल, रुफटप रेष्टुरेन्ट, फुटकोट, अत्याधुनिक व्युटि सैलुन, बैंक तथा सहकारी सहित २० भन्दा बढी प्रकारका बस्तु तथा सेवा उपलब्ध छ । ‘मलभित्र २ सय ३० भन्दा बढी व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन्,’ थापाले भने ।

You might also like

Comments are closed.