ठगीको समाचार लेखेको आरोपमा पक्राउ परेर रिहा भएका पत्रकार गिरीलाई भव्य स्वागत र सम्मान

पोखरा, ६ बैशाख

ब्यापारिक घराना बतास अर्गनाइजेसनका सञ्चालक बिपेन्द्रराज बतासले गरेको ठगीबारे समाचार लेखेको आरोपमा पक्राउपछि रिहा भएका पत्रकार अर्जुन गिरीलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । साइबर अपराधमा पक्राउ परेका गिरी काठमाडौं जिल्ला अदालतले विहीबार साधारण तारेखमा रिहा गरेपछि शुक्रबार पोखरा आएका उनलाई पत्रकार महासंघ कास्कीको अगुवाईमा भव्य स्वागत गरिएको हो । गिरीलाई पोखरा विमानस्थलमा स्वागत गरिएको थियो भने त्यसपछि नगर परिक्रमा गराइएको थियो । गिरीलाई गाडीमा राखेर पोखरा एयरपोर्टबाट शुरु भएको ¥याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, गैह्रापाटन, सिद्धार्थचोक, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, सृजनाचोक, रत्नचोक, राष्ट्रवैंकहुँदै नेपाल पत्रकार महासंघ कास्की शाखाको कार्यालयमा पुगेर समापन कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा पत्रकार महासंघको तर्फबाट गिरीलाई सम्मान गरिएको थियो । गिरीलाई पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेललगायतले माला र खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै ठगीको समाचार लेख्दा साइबर अपराधको आरोपमा पक्राउ परेर अदालतबाट रिहा भएका पत्रकार अर्जुन गिरीले आफूलाई पैसाको आडमा आफूलाई फसाइएको बताए । आफू समाचारमा नचुकेको दाबी गर्दै उनले भने,‘तर पैसाको आडमा प्रहरी, प्रेस काउन्सिल र सरकारी वकिलले फसाउने कोशिष गरे ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलको बेइमानीले पत्रकार गिरीले दुःख पाएको टिप्पणी गरे । उनले प्रेस काउन्सिलका कर्मचारीसमेत गिरीलाई फसाउन लागि परेको देखिएकाले शंकास्पद प्रेस काउन्सिलका कर्मचारी सुरेन्द्र मल्ललगायतमाथि छानविन गर्नुपर्ने बताए ।

पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले पत्रकार गिरीलाई साइबर अपराधको मुद्धा लगाएर पत्रकारितामै कालो दिन ल्याउन खोजेपनि त्यो सफल हुन नसकेको बताए । उनले गिरीलाई फसाउन पोखरादेखी काठमाडौंसम्मै सेटिङ भएको र त्यसमा प्रहरी, प्रेस काउन्सिल, पत्रकारदेखी वकिलसम्मै साँठगाँठ भएको आशंका व्यक्त गर्दै त्यसको पत्रकार महासंघले छानविन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारलाई विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ आकर्षित गरेर गिरीसहित पत्रकारिता क्षेत्रलाई नै फसाउन षडयन्त्र फेल भएपछि राज्य संयन्त्रसहित सिआइबी र सरकारी वकिलहरुमा भुईंचालो गएको बताए । उनले गिरीको रिहाईसँगै पत्रकार महासंघले आन्दोलन स्थगित गरेपनि पत्रकार महासंघ कास्की शाखाको आन्दोलन जारी रहेको बताए । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज नभएसम्म महासंघ कास्की शाखाले रचनात्मक कार्यक्रम गरिरहने बताए । उनले गिरीलाई पक्राउ गर्नु केहि अघिमात्रै ताण्डव न्यूज डटकमलाई ताण्डन न्यूज डटकम बनाएर प्रेस काउन्सिलमा दर्ता नभएको पत्र लेख्ने तथा विभागीय फाँटका कर्मचारी नभएको मौकामा अर्काे फाँटका प्रेस काउन्सिलका कर्मचारी सुरेन्द्र मल्ललाई कार्वाही नगरेसम्म नेपाल पत्रकार महासंघका अध्यक्ष केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई बैठकमा उपस्थित नहुन आग्रह गरे ।

रिहा भएर शुक्रबार पोखरा आएका गिरीले बतास अर्गनाइजेसनका सञ्चालक बिपेन्द्रराज बतासले पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी ब्यबसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई ठगी गरेको ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकममा समाचार प्रकाशन गरेका थिए । सोहि समाचारलाई लिएर बतासले साइबर अपराधको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा मुद्धा दर्ता गरेपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेर काठमाडौं पठाएको थियो । पहिलो दिन पत्रकार महासंघको रोहवरमा छुटेका उनलाई दोश्रो दिन सिआइबीले हथकडी लगाएर कस्टडीमा राखेपछि देशभरका पत्रकार आन्दोलित भएका थिए । त्यसपछि अदालतमा उपस्थित गराइएका उनलाई विहीबार अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

You might also like

Comments are closed.