ठेकेदारको ढिलासुस्तीले फिर्के पुल समयमै नबन्ने पक्का

 

सन्देश श्रेष्ठ

पोखरा ।

पोखराको फिर्के पुल समयमै निर्माण सम्पन्न नहुने भएको छ । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखराको प्रस्याङमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुने निश्चित भएको हो । २०७५ साल असोज ८ गते सम्झौता भई २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो पुल निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै नसकिने पक्का भएको सडक विभाग पोखराले जनाएको छ । सम्झौता अनुसार पुल निर्माणको काम अबको ८ महिनामा सकिनुपर्ने हो । तर पुल निर्माणको प्रगति हालसम्म ७ प्रतिशत भन्दापनि कम छ । अझ अहिले त कम्पनीले काम नगर्ने बहाना लकडाउन बनाएको छ ।

पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखराको जिरोकिलोमिटरदेखि बिन्ध्यबासिनी मन्दिरसम्म ६ लेनको बाटो निर्माण भएको करीब ३ वर्ष भयो । बाटो फराकिलो बनेर ६ लेनको भएपछि पुलचाहिं बोटल–नेक जस्तो भयो । जसका कारण दैनिकजसो दुर्घटना हुने र यात्रुको ज्यानै जानेसम्मका घट्नाहरु हुन थालेपछि पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २÷२ लेनको २ वटा पुल निर्माण गरिन गरिन लागेको हो । पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा लिएको छ । कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो ।

समय गुज्रेको हिसाबले अहिलेसम्म पुल निर्माणको काम करीब ७० प्रतिशत काम सकिनुपर्ने हो । तर फिल्डमा हेर्ने हो भने पुल निर्माणको एक छेउसम्मपनि काम भएको छैन । अझ लकडाउन भएपछि त उसले काम रोक्ने बहाना पाएको छ । सोहि बहाना बनाउँदै अन्य कम्पनीले धमाधम काम गरिरहँदा उसले अहिलेसम्म कामदार बोलाएकोसमेत छैन ।

सडक विभाग पोखरा कार्यालयका ईञ्जिनियर कल्याण खड्काले कम्पनीको ढिलासुस्तीका कारण पुल समयमै नबन्ने देखिएको बताए । २ वर्षमा ७ प्रतिशतपनि काम भएको छैन,‘उनले भने,‘यस्तो पाराले समयमा त के म्याद गुज्रेको १ वर्षमापनि पुल बन्ने छाँट छैन ।’ उनले सरकारले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि ६ महिना थपिदिएपनि सो समयमापनि पुल बन्ने छाँट नदेखिएको बताए ।

पुलको साइट हेर्ने ईञ्जिनियर सन्तोष थापालेपनि पुल निर्माणको कार्य प्रगति सुस्त रहेको बताए । पुल निर्माणको काम सुस्त मात्रै होइन अति सुस्त छ,‘उनले भने,‘पटक÷पटक पत्राचार गर्दापनि निर्माण कम्पनीले कामको गति बढाएन ।’

निर्माण कम्पनी शान्ति आरोग्य जेभी सानेपा, ललितपुरका साइड सुपरभाइजर रामनारायण साह भने काममा ढिलासुस्ती भएपनि आफूहरुले सक्दो काम गरिरहेको बताउँछन् । हामीले काम नै ६ महिना ढिलो शुरु ग¥यौं,‘उनले भने,‘बिचमा पाइलका लागि खन्दा पिजल (फलामको ढिक्का) नै अड्किने समस्या आयो, जसका कारण सोंचेअनुसारको कार्य प्रगति गर्न सकेनौं ।’ अहिले आएर कोरोना र लकडाउनका कारण काम अघि बढाउन नसकिएको उनको भनाई छ ।

नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गरिन लागेको हो । माछापुच्छ«े हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउन लागिएको सडक विभाग पोखरा कार्यालयका ईञ्जिनियर कल्याण खड्काले जानकारी दिए । उनका अनुसार यो डिजाइनमा अन्य ठाउँमापनि पुल निर्माण गर्नका लागि सम्झौता गरिएको भएपनि काम नै थालिएको यहाँ मात्रै हो ।

पुल बन्ने आशामा बसेका पोखरेली समयमै पुल नबन्दा निराश बनेका छन् । साथै उनीहरुले पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीप्रति आक्रोस व्यक्त गर्दै समयमै पुल निर्माण नगरेमा कार्वाही गर्नुपर्ने बताएका छन् । पोखरेली पर्यटन व्यवसायी भरतराज पराजुली भन्छन्,‘लकडाउन त बहाना मात्रै हो,‘२ वर्षमा ७ प्रतिशतपनि काम नगर्नेले के पुल बनाउला ? ।’ उनले पुल निर्माणमा चरम लापर्वाही भइरहँदा सडक विभाग र सरकार मौन बसेको भन्दै थपे,‘ब्यबस्था बदलियो, सरकार बदलियो तर काम गर्ने शैली बदलिएन, यसरी कसरी बन्छ नया नेपाल ? कसरी हुन्छ विकास र समृद्धी ? ।’

You might also like

Comments are closed.