डाक्टरी पढेका नै डाक्टरको परीक्षामा ७६ प्रतिशत फेल !

काठमाडौं, २८ साउन । ठानिन्छ, डाक्टरहरू पढाइमा तगडा हुन्छन् । तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन् । तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन् । डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक पटक आमरण अनशन बस्छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन् ।

काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए । नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए ।

कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए। असफल हुने परीक्षार्थी स्वदेश र विदेशमध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए ।

वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ । गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए ।

You might also like

Comments are closed.