एफएसयू टेक्निकल फेस्टिवल सम्पन्न

पोखरा,६ साउन ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनसनरत डा. गोविन्द केसीको बाटोमा हिँड्न नसकिने बताएका छन् । उनले डा. केसीको जिद्धी पाराले राम्रो नहुने भन्दै उनको बाटो सकिने बाटो भएको टिप्पणी गरे ।

‘डा. केसीको काम डाक्टरले गर्ने काम होईन । उनको जिद्धि पाराको पछि लाग्न सकिदैंन ।’ इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा सञ्चालित टेक्निकल फेस्टिवलको समापन समारोहमा प्रमुख अतिथि रहेका गुरुङले भने – उनको बाटोमा हिँडे हामी सकिन्छौं ।’ सबैले आफ्नो जिम्मेवारी, कर्तव्य के हो ? त्यो गर्न उनले अनुरोध पनि गरे ।

मन्त्री गुरुङले गण्डकी प्रदेशलाई बन्द हड्तालमुक्त प्रदेश बनाउनुपर्नेमा पनि जोड दिए । यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन सबै जना लाग्नुपर्ने उनको भनाई थियो । विद्यार्थीहरुलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अब विद्यार्थीहरु झण्डा बोकेरमा सडकमा नारा लगाउँदै टायर बाल्ने होइन, यस्तै ज्ञानवद्र्धक अभियान अघि बढाउन आग्रह गरे । सरकार र नेतालाई मात्र गाली गरेर मुलुक नबन्ने र छोरो क्याम्पस भर्ना हुनेबेलासम्म विद्यार्थी भन्दै भाषण गरेर काम नहुने उनको भनाई थियो ।

प्रदेश सांसद विन्दुकुमार थापाले टीम वर्ककै कारण विद्यार्थीले यति ठूलो कार्यक्रम आयोजना गर्न सफल रहेकाले सबै मिलेर अघि बढ्न आग्रह गरे । उनले अब प्रदेशले पाँच समृद्धिको आधारहरु पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई जोड दिएर अघि बढ्ने जनाउँदै पोखरालाई शिक्षासँगै स्वास्थ्य र खेलकुदको हब बनाउन लागिपर्ने बताए ।

क्याम्पस प्रमुख रामप्रसाद पौडेलले क्याम्पसको भौतिक पूर्वाधार दयनीय रहेको बताउँदै आफू नेताहरुसँग माग्दा माग्दा हैरान भइसकेको बताए । उनले प्राविधिक विश्वविद्यालयका रुपमा क्याम्पसलाई अघि बढाउन पनि सरकारसँग आग्रह गरे । अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष सुनिता बरालले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिन ईञ्जिनियरिङ विद्यार्थीहरुको योगदान अमूल्य रहेको बताईन् ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियनका सभापति इन्द्र पौडेलले वार्षिक ४ हजार ईञ्जिनियर उत्पादन हुने मुलुकमा रोजगारीको अवसर नहुँदा दक्ष जनशक्ति बाध्य भएर विदेश पलायन भएको बताए । उनले प्रदेश सरकारले भएपनि उचित ईञ्जिनियरिङ शिक्षा नीति ल्याएर यहाँको पढाईलाई गुणस्तरीय बनाउन आग्रह गरे ।

न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजन तथा बिग एफएम १०१.२ र पोखरा महानगरपालिकाको सहप्रायोजन रहेको भेक्टर ‘डाइरेक्ट यो भिजन’ नाममा आयोजित तीन दिने राष्ट्रिय स्तरको फेस्टिवल अवलोकन गर्नेहरुको भिड लागेको थियो । ‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ आयोजित सो फेस्टिवलमा मुलुकभरका प्रतिष्ठित झण्डै दुई दर्जन इन्जिनियरिङ क्याम्पसबाट विद्यार्थी सहभागी थिए । पोखराका विभिन्न विद्यालयसमेत सहभागी फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहेको संयोजक किरण तिवारीले बताए । कार्यक्रममा बिज्ञान तथा प्रविधिका साथै मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम भएका थिए ।

मेलामा गण्डकन्युज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समिती लगायतले सहकार्य गरेका थिए ।

 

You might also like

Comments are closed.