डिजेल इन्जिनका फाइदा र बेफाइदा

काठमाडौं । गाडीहरुमा डिजेल र पेट्रोल गरी दुई प्रकारका इन्जिन प्रविधि प्रयोग गरिन्छ । यी दुवै इन्जिनका आफ्नै विशेषता छन् । त्यसो भए गाडी किन्दा कुन राम्रो होला ? यो प्रश्न धेरैको मनमा उब्जिन्छ । यद्यपि धेरै प्यासेन्जर कारहरुमा भने आजकाल डिजेल इन्जिनको प्रयोग कम हुँदै गएको छ ।

पछिल्लो समयमा टाटा, मारुती सुजुकी जस्ता कारहरुले पनि डिजेल इन्जिनयुक्त कारको उत्पादनमा कमी ल्याइरहेका छन् ।

फाइदाजनक डिजेल इन्जिन
व्यवसायीहरु डिजेल इन्जिन र पेट्रोल इन्जिनयुक्त कारहरुको दीर्घकालीन रुपमा अध्ययन गर्ने हो भने डिजेल इन्जिनले धेरै फाइदा दिने बताउछन् ।

व्यवसायीहरु मूल्यका आधारमा डिजेल इन्जिनका कार २९ प्रतिशत महंगा हुने भए तापनि कारलाई फुल ट्यांकी इन्धन भरी चलाउदा यसले इन्धन मूल्यका हिसाबले ३० प्रतिशत सस्तो पर्ने बताउछन् । यसले गर्दा दीर्घकालीन रुपमा ग्राहकलाई आर्थिक रुपमा निकै नै फाइदाजनक हुन्छ ।

डिजेल इन्जिनले पेट्रोल इन्जिनले भन्दा बढी माइलेज दिन्छ । यसले गर्दा इन्धनमा समेत बचत हुन्छ । एउटै क्षमताका यी दुई इन्जिनलाई तुलना गर्दा धेरै कुरामा डिजेल इन्जिन फाइदाजनक हुने उनीहरु बताउछन् ।

विशेष गरी काठमाडौं भन्दा बाहिर ओहोरदोहोर गरिरहने, यात्रा गरिरहने ग्राहकका लागि डिजेल इन्जिनयुक्त गाडी उपयुक्त हुन सक्छन् । लामो दूरीमा यात्रा गरिरहदा धेरै इन्धन खपत हुन्छ र माइलेज पनि बढी चाहिन्छ । यो अवस्थामा यस्ता गाडी किफायती हुन सक्छन् ।

पेट्रोल इन्जिनको तुलनामा डिजेल इन्जिनको क्षमता पनि धेरै हुन्छ । यसको पावर र टर्क धेरै हुने व्यवसायीहरु बताउछन् । त्यसैगरी सुरक्षाका लागि पनि डिजेल इन्जिनद्वारा निर्मित कारहरु उपयुक्त हुन्छन् । पेट्रोलका तुलनामा डिजेल कम प्रज्ज्वलनशील पदार्थ हो । यसलाई स्टोर गरेर राख्न पनि सकिन्छ । यो कुनै कारणले विष्फोट हुने सम्भावना पनि कम हुन्छ ।

कमजोर पक्ष
यद्यपि डिजेल इन्जिनका कमजोर पक्ष पनि नभएका भने होइनन् । डिजेल इन्जिनको प्रविधि महङगो भएकाले डिजेल इन्जिनयुक्त कार पनि महंगो हुन्छन् । व्यवसायीहरुका अनुसार उही क्षमताको कारमा भएको डिजेल र पेट्रोल इन्जिनका वीच केही लाख बराबरको मूल्यमा फरक पर्न आउछ । अन्य विभिन्न कारणले पनि डिजेल इन्जिनयुक्त कार महंगो पर्न जान्छ ।

इन्जिनको कम्प्रेसन रेसियो उच्च हुन्छ । इन्जिनको आवाज ठूलो हुनाले यसको ब्लक वा हेड मोटो बनाउनु पर्छ । यसले गर्दा पनि मूल्यमा फरक पर्न सक्छ । यसको फ्युलिङ सिस्टम पनि अलि जटिल खाले हुन्छ । फ्युल पम्प आदिका लागि इन्जिनमा थप फिटमेन्टको खाँचो पर्छ । त्यसैगरी यसको टर्क उच्च हुने हँुदा टायर र रिम पनि अलि ठूलो बनाउनु पर्छ ।

यद्यपि पछिल्लो समयमा डिजेल इन्जिनका धेरै पक्षमा सुधार हुँदै आएको व्यवसायीहरु बताउछन् । कतिपय डिजेल इन्जिनयुक्त गाडीको आवाज पेट्रोल इन्जिनको जस्तै हुने गरेको उनीहरु बताउछन् । त्यसैगरी मूल्यको फरकपना पनि साँघुरिदै गएको बताइन्छ ।

किफायती प्रविधि
डिजेल इन्जिनयुक्त कारका लागि मर्मत खर्च भने महंगो पर्न सक्छ । यसका पाट्र्स महंगो हुन्छन् । तर यसका लागि सरकारी कर भने सस्तो हुन्छ । अनि इन्धनमा पनि बचत हुन्छ । यसले गर्दा समग्र रुपमा हेर्दा डिजेल इन्जिनलाई किफायती प्रविधि मानिन्छ । यी सबैका कारण अहिले डिजेल इन्जिनयुक्त कारहरुको प्रयोग बढिरहेको छ । टाटाले त ‘ड्राइभ स्मार्ट, ड्राइभ डिजेल’ नामक अभियान नै संचालन गरेको छ ।

You might also like

Comments are closed.