डिफेन्डिङ च्याम्पियन एपिएफले जित्यो सभामुख कप महिला भलिवल प्रतियोगिताको उपाधि

सन्देश श्रेष्ठ
पोखरा, ५ माघ । दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पीयन सशस्त्र प्रहरी वलको एपीएफ क्लवले जितेको छ । पोखरामा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो । जितसँगै एपीएफले नगद ३ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । एपीएफले रोल्पाको लिवाङमा भएको प्रथम राष्ट्रिय महिला भलिवल कपको उपाधिपनि जितेको थियो ।

नेपाल पुलिस क्लवले भने उपबिजेतामै चित्त बुझाएको छ । उपबिजेता बनेको पुलिसले नगद १ लाख ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार अपराह्न भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लवलाई २५–८, १९–२५, २५–१७ र २५–१७ ले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रदेश नम्बर ३ तृतीय हुन सफल भयो । तेश्रो स्थानको लागि शनिबार भएको प्रतिष्पर्धामा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ३–१ कै सेटमा पराजित ग¥यो । न्यू डायमन्ड एकेडेमीका खेलाडीले भरिएको प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई २५–१४, २१–२५, २५–१४ र २५–१७ ले पराजित गरेको हो । तेश्रो भएको प्रदेश नम्बर ३ ले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने चौथो भएको गण्डकी प्रदेशले सान्त्वना स्वरुप नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भईन् । उनले नगद १० हजार र ट्रफी प्राप्त गरिन् । त्यस्तै उत्कृष्ट स्पाईकर प्रदेश नम्बर ३ की प्रतिभा माली, उत्कृष्ट ब्लकर एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट सेटर नेपाल पुलिस क्लवकी कमला पुन, उत्कृष्ट लिब्रो नेपाल पुलिस क्लवकै शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट हुन सफल भए । उत्कृष्ट विधाका सबैलाई जनही रु. ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

बिजेताहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव ईन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

You might also like

Comments are closed.