पोखरा । पोखरामा नालिमा पुरिएर ५ जनाको मृत्यू भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा सडक निर्माणको काम गरिरहेका ५ जना मजदुरको नालिमा पुरिएर मृत्यू भएको हो । पोखरा–मौजा सडकको रिटेनिङ पर्खाल निर्माणमा खटिएका बेला माथिबाट खसेको ढिस्कोले पुरिएर ती मजदुरहरुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यू हुनेमा सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओली छन् । मृत्यू हुने सबै मजदुरहरु सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन् । विहान करिब साढे ७ बजे मजदुरहरुले काम गरिरहेका बेला माथिबाट अचानक ढिस्को खसेर पुर्दा उनीहरुको मृत्यू भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाको उद्धार गरेको प्रहरीले जनाएको छ । अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको बताइएको छ । ढिस्को खस्दा भागेर बाँच्न सफल रहेका मजदुर खिमलाल बस्नेतले हारगुहार गरेपछि स्थानीयले घट्नाबारे प्रहरीलाई जानकारी गराएका थिए । ६ जना मध्ये उनीमात्र बाँच्न सफल भएका हुन् । ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
Comments are closed.