काठमाडौं, १ मंसिर । तनहुँका दीक्षान्त ढकालले ‘नेपाल्स लिटल आइकन २०१९’ (जुनियर ब्वाइज) तर्फको उपाधि हात पारेका छन् । तनहुँको भानु ४ चुँदी घर भएका ढकाल हाल काठमाडौंको बानियाटार बस्दै आएका छन् । राष्ट्रिय नाँचघर जमल काठमाडौंमा शनिबार भएको अन्तिम प्रतिष्पर्धामा ढकालले उपाधि रक्षा गर्न सफल भएका हुन् ।
एक महिनासम्म चलेको आधारभूत तालिममा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन भएका थिए । जसअन्तर्गत गायन विधामा पनि उनी सर्वोत्कृट भए । ए.एन.पि. मिडिया हाउसले सञ्चालन गरेको ८औं संस्करणको राष्ट्रियस्तरको प्रतिष्पर्धामा अन्य १५ प्रतिष्पर्धीलाई पछि पार्दै ढकालले उपाधि जितेका हुन् ।
हाल काठमाडौंको गोंगबुमा रहेको किड्स स्कुलमा कक्षा ५ मा अध्ययनरत ढकालले प्रश्नोत्तर चरणमा अनाथ बालबालिका सम्बन्धी सोधिएको प्रश्नमा उत्कृष्ट जवाफ दिएका थिए । ‘यो सफलताले भविष्यमा अझ केही गर्ने प्रेरणा मिलेको छ,’ ढकालले भने । प्रतिस्पर्धाको क्रममा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई ढकालले धन्यवाद ज्ञापन गरेका छन् ।
पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय रहेको हुँदा छोरालाई यो सफलता हात परेको बुवा दिनेश ढकालले बताए । छोराले सफलता पाउँदा निकै हर्षित महसुस भएको आमा दीपा काफ्ले ढकालले बताइन् । ‘यस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउँछ,’ उनले भनिन् ।
अन्य चार विधामा पनि प्रतिष्पर्धा भएको थियो । सिनियर गल्स, टिन ब्वाइज, जुनियर गल्स र टिन गल्स विधामा प्रतिस्पर्धा भएको ए.एन.पि. मिडिया हाउसले जनाएको छ ।
Comments are closed.