तनहुँको थानीमाइ मन्दिरमा महायज्ञ गरिदै, धार्मिक पर्यटक बढ्ने विश्वास

आर्थिक आवाज
पोखरा, १० मंसिर । तनहुँको धार्मिक पर्यटकीय गन्तव्य थानीमाइ मन्दिरमा महायज्ञ गरिने भएको छ । भानु ७ (साविक वसन्तपुर गाविस) मा रहेको थानीको माइ मन्दिरको प्रचारप्रसार गर्ने तथा आर्थिक संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको थानीमाइ मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका सचिव हर्कबहादुर थापाले जानकारी दिए ।

बुधबार पोखरामा आयोजित एक कार्यक्रममा महायज्ञका बारेमा जानकारी दिदै थापाले बचत रकमले मन्दिरको भौतिक पूर्वाधार विकास गरिने बताए । ‘धार्मिक पर्यटनका लागि थानीमाइ मन्दिर उत्कृष्ट गन्तव्य हो,’ उनले भने ।

मंसिर १६ देखि २४ गतेसम्म महायज्ञ चल्ने बताइएको छ । प्रमुख कथा वाचक माधवकृष्ण महाराज रहनेछन् । एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ सफल पार्न १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

थानीमाइदेखि गडीमाइसम्मको धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञले योगदान पु¥याउने भानु ७ का वडा अध्यक्ष रामकृष्ण देवकोटाले बताए । ‘मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटन विकास क्षेत्र सुधारका लागि महायज्ञ सहयोगी बन्ने विश्वास हामीले लिएका छौं,’ उनले भने ।

थानीमाइ मन्दिरको प्रचारप्रसार गर्न सकेमा समग्र तनहुँको पर्यटनमा टेवा पुग्ने पर्यटन विज्ञ श्रीकान्त खतिवडाले बताए । कार्यक्रममा तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिका प्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष भरत केसी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.