तनहुँको दुम्सीचौरमा कृत्रिम ताल निर्माण हुने

आर्थिक आवाज
तनहुँ, ३० पुष ।

तनहुँको व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण हुने भएको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले व्यास नगरपालिका र स्थानीयको लागत सहभागीतामा ताल निर्माण गर्न लागिएको हो । स्थानीय नारेश्वर खोलाको पानी थुनेर बनाइने उक्त ताललाई ‘नारेश्वर ताल’ नामाकरण  गरिएको छ ।

२८ रोपनी क्षेत्रफलमा फैलिने ताल ७८ लाख १९ हजारको लागतमा निर्माण हुने अनुमान गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार ताल निर्माणको लागी नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने स्थानीयवासीको जग्गालाई शेयरमा रुपान्तरण गरिने भएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा लागत रकम केही कम हुने सम्भावना देखिएकाले स्थानीय विष्णु थापाको अध्यक्षतामा ताल निर्माण उपभोक्ता समिति  गठन गरी  समिति मार्फत् कार्य अगाडि बढाइएको न्यौपानेले बताए ।

तालको लम्बाई ३ सय  मिटर, चौडाई २८ देखी ६८ मिटर र गहिराई ७ मिटर रहने इञ्जिनीयर हरिदत्त पौडेलले जानकारी दिए । कङ्क्रिट ग्राभिटी ड्यामको बांध लगाई पानी जम्मा गरी सो क्षेत्रमा सिंचाइ, तालमा माछापालन , पर्यटकीय र मनोरञ्जनका गतिविधिहरु समेत सञ्चालन गर्न सकिने इञ्जिनियर पौडेलले बताए ।

तालको दुम्सीचौर स्थित एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकाश लम्सालले शिलान्यास गर्दै हरेक स्थानीय तहका जनतालाई स्वरोजगार बनाउन सके मात्र जनताको जीवनस्तर उकास्न सकिने बताए । प्रदेशका सबै स्थानीय तहमा पर्यटक पु¥याउने उद्देश्यले गाँउगाँउमा होमस्टेका पुर्वाधार विकास र पर्यटन व्यवसायहरुलाई प्रवद्र्धन गरेको मन्त्री लम्सालले बताए । “अबको लक्ष्य जनतालाई विकासँग जोड्दै समृद्ध र सुखी बनाउने सबैको साझा एजेन्डा हुनुपर्छ” उनले भने ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङ, संविधान सभाका पूर्व सदस्य ध्रव वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल लगायतले ताल निर्माणका सम्बन्धमा आ–आफनो धारणा राखेका थिए ।

You might also like

Comments are closed.