तनहुँमा ‘सञ्चार माध्यमका समस्या र पत्रकार आचार संहिता’ सम्वन्धि मिडिया संवाद

पुस १२,तनहुँ ।

‘तनहुँमा सञ्चार माध्यमका समस्या र पत्रकार आचार संहिता’ विषयक मिडिया संवाद कार्यक्रम विहिवार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रम प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सञ्चार माध्यमबाट प्रशारण तथा सम्प्रेषण गरिने सुचना आचार सहिंता अनुरुपका हुनुपर्नेमा जोड दिए । तनहुँमा ‘सञ्चार माध्यमका समस्या र पत्रकार आचार संहिता’ सम्वन्धि मिडिया संवादराज्यको चौथो अंगको रुपमा रहेको सञ्चार माध्यम जवाफदेही र विश्वासनीय हुनुपर्ने बताए । सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता समेत बनाउन लागिएको आचार्यले जानकारी दिए ।

कुनै पनि सुचना तथा जानकारी समाजिक सञ्जालमा राख्दा समेत पुष्टि भएपछि मात्र राख्न उनले आग्रह गरे । संघीयता कार्यान्वयनमा आएपछि सञ्चार क्षेत्रमा खासै केही नयाँ परिवर्तन नआएको चर्चा गर्दै आचार्यले नीति अनुसार कानुन र संरचना बन्न नसकेको बताए ।

त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष खिला भण्डारीले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रूपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पेसागत आचरण एवं मान्यता विपरीत कार्य नगर्न उनले आग्रह गरे । कपी पेष्ट पत्रकारिता मौलाउदै गएको प्रसङ्ग उल्लेख गर्दै भण्डारीले पत्रकारहरु सिर्जनशील हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पत्रकारहरुले प्रेस स्वतन्त्रताको सदुपयोग गरी जनविश्वास आर्जन गर्ने गरी जिम्मेवार र उत्तरदायी ढंगले सुचना सम्प्रेषण गर्नुपर्ने बताए । आचारसंहिता नैतिक बलको आधार भएको बताउदै शर्माले समाजलाई सकारात्मक मार्गमा लाग्न प्रेरित गर्नु सञ्चार माध्यमको दायित्व भएको धारण व्यक्त गरे ।

त्यस्तै गरी व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले मिडिया प्रवद्र्धन र पत्रकारहरुको क्षमता अभिवृद्धिमा नगरपालिका सकारात्मक रहेको बताए । तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले सञ्चारमाध्यमले वस्तुनिष्ठ भई सत्य तथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमका महासंघका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, पूर्व अध्यक्षहरु प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष डम्बर अधिकारी, फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोरा मियाँ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य अञ्जना न्यौपाने, महासंघ तनहुँ शाखाका उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेल लगायतले महासंघ तथा प्रेस काउन्सिल नेपालले गरेका नीतिगत निर्णयहरुको कार्यान्वयनको पक्ष बलियो हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारले न्युनतम पारिश्रमिक, लोककल्याणकारी विज्ञापन तथा समानुपातिक विज्ञापन प्रणालीका बारेमा जिज्ञासा राखेका थिए ।

You might also like

Comments are closed.