तनहुँलाई पर्यटकीय हबको रुपमा विकास गर्न बन्दीपुरमा महोत्सव

 

सम्झना रसाईली
तनहुँ, १२ भदौ ।

तनहुँ जिल्लालाई पर्यटकको आकर्षक हबका रुपमा विकास गर्ने उद्देश्यका साथ तनहुँ पर्यटन तथा साँस्कतिक महोत्सव २०७५ गरिने भएको छ । प्रकृति र संस्कति अर्को पीढिको लागि संरक्षण गरौं भन्ने नाराका साथ यही भदौ २२ र २३ गते बन्दीपुर गाउँपालिकाको बन्दीपुरमा बन्दीपुर भेटघाट कार्यक्रम अन्तरगत उक्त महोत्सव सञ्चालन गर्न लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताएका छन् ।

महोत्सवका विषयमा जानकारी गराउने उद्देश्यले सोमबार दमौलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बन्दीपुर गापाका अध्यक्ष थापाले जिल्लाकै १० वटै स्थानीय तहमा रहेका पर्यटकीय सम्भावनाका विषयमा प्रचार प्रसार तथा चर्चा गर्ने उद्देश्यले उक्त महोत्सवको तयारी गरिएको बताए ।

बन्दीपुर गाउँपालिका, बन्दिपुर युनेस्को क्लब, रोटर्‍याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको संयुक्त आयोजनामा तनहुँ पर्यटन तथा सास्कृतिक महोत्सव२०७५ एवं बन्दीपुर भेटघाटू कार्यक्रम गर्न लागिएको हो । बन्दीपुरमा सांस्कृतिक महोत्सव गर्दै आए पनि यस वर्ष तनहुँको सांस्कृतिक क्षेत्रलाई मात्र नभई पर्यटकीय क्षेत्रलाई पनि उजागर गर्नु मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

उक्त महोत्सवका अवसरमा तनहुँका १० स्थानीय तहको पर्यटन प्रोफाइल पुस्तिका विमोचन गरिने महोत्सवका निर्देशक एवं बन्दीपुर युनेस्को क्लवका उपाध्यक्ष बिष्णुकान्त घिमिरेले बताए ।

महोत्सव देशैभरी हुन्छ तर यो महोत्सव तनहुँको पर्यटक क्षेत्र र संस्कृतिलाई प्रचार प्रसार गरी जिल्लामा अन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने मुख्य उद्देश्य होू अध्यक्ष थापाले भने, यो कार्यक्रम विशुद्ध तनहुँको संस्कृति र पर्यटनलाई ध्यान दिनेहुँदै सबैले आ(आफ्नो ठाउँबाट यो कार्यक्रमलाई विशेष पर्वकै रुपमा सम्पन्न गर्न सहभागि भइदिनुहुन हाम्रो आग्रह छ ।

उक्त दुइ दिने कार्यक्रममा चर्चित कलाकारहरु बद्री पंगेनी, मरिस्का पोख्रेर, कृष्ण कडेलको टिम, सुप्रिया कटुवाल, राजेश हमाल, बलबिर थापा र कृष्ण थापा लगायतको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बन्दीपुर युनेस्को क्लवका अध्यक्ष टिकाराम पनेरुले बताए ।

महोत्सवका अवसरमा स्थानीय स्तरका लाखे नाच, ढोको नाच, कौरा नाच, रत्यौली, तिज गित, देवी नाच, झ्याउरे नाच, गुरुङ र मगर समुदायको संस्कृति, तामाङ सेलो, थारु नाच, गन्धर्भ गित, सोराठी, ठाडो भाका, दरै, भोटे समुदायको संस्कृति, भजन लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने तयारी भएको निर्देशक घिमिरेले जनकारी गराए ।

त्यस्तै, उक्त कार्यक्रमका अवसरमा तनहुँको पर्यटकीय सम्भावना र सरोकारवालहरुको भुमिका विषयक अन्तर पालिका बक्तृत्वकला, एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफामा टेवलटेनिस टुर्नामेन्ट सञ्चालन लगायतका कार्यक्रमहरु गर्ने तयारीभएको युनेस्को क्लवका अध्यक्ष पनेरुले बताए ।

जिल्लाका दशवटै स्थानीय तहको सहभागिता र विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न गर्ने तयारी गरिएको पर्यटन तथा सांस्कृतिक महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्नुका साथै १८ लाख रुपैया लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।

You might also like

Comments are closed.