तनहुँ उद्योग वाणिज्य संघको साधारणसभा, समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्यः महत

आर्थिक आवाज
तनहुँ, ७ पुस । निजी क्षेत्रको छाता संस्था तनहुँ उद्योग वाणिज्य संघको ३३औं साधारणसभा शनिबार दमौलीमा सम्पन्न भएको छ । साधारण सभाको पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताए ।

‘देशमा विकास प्रशस्त सम्भावना भएपनि सम्भावनालाई वास्तविकतामा परिणत गर्न उद्यमशीलताको आवश्यकता पर्छ र त्यो उद्यमशीलता निजी क्षेत्रको लगानीबाट मात्र सम्भव हुन्छ,’ उनले भने । देशमा भएको कृषि, पर्यटन, जलस्रोतको सम्भावनालाई उपयोग गर्न सकेमात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य सरिता गुरुङले उत्पादनशील क्षेत्रमा लगानी बढाउदै पुँजी निर्माणतर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गरिन् । आर्थिक संमृद्धिका लागि सेवामुलकसँगै उत्पादशील क्षेत्रमा लगानी गर्न उनले जोड दिइन । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई देशमा नै रोजगारी दिने तर्फ राज्यले ध्यान दिनुपर्ने बताए । संघको सबै बजार इकाईलाई बजार क्षेत्रमा निश्चित प्रक्रिया पुरा गरी सिसिटिभी राख्न आग्रह गरे । बजार सिसिटिभीको निगरानीमा रहँदा अपराध न्युनीकरणमा ठुलो मद्दत पुग्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले स्थानीय तह सम्भाव्यता अध्ययन गरी हरेक स्थानीय तहले उद्योग प्रवद्र्धन तर्फ ध्यान दिनुपर्ने बताए । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रको सहयोगले मात्र नगरपालिकाले अघि सारेको महत्वकांक्षी योजनाहरु पुरा हुनसक्ने बताए । व्यास नगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन, यस क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने तथा धार्मिक पर्यटनको गन्तव्य बनाउने लगायतका योजना अगाडि सारेको न्यौपानेले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का संयोजक सञ्जिवबहादुर कोइरालाले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सके मात्र विकास र समृद्धि सम्भव हुने बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रथम मेयर तारा प्रसाद श्रेष्ठ, नेकपा नेता शंकरनारायण श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ ‘राकु’, महिला उद्यमी संघकी कार्यबाहक अध्यक्ष शान्ता श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.