तनहुँ समाज हङकङद्वारा खानेपानी आयोजनालाई ३ लाख ८७ हजार सहयोग

दमौली, १३ असार ।

तनहुँ समाज हङकङले भिमाद नगरपालिका–४ साराडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ३ लाख ८७ हजार ९ सय ६० रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकम तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिम बहादुर गुरुङ र निवर्तमान अध्यक्ष जङ थापाले समितिका अध्यक्ष तारा सिंह आलेलाई बुधबार संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । उक्त रकम नविन थापा मगरको संयोजकत्वमा तनहुँबाट विभिन्न सिलसिलामा हङकङ पुगेका नेपालीबाट संकलित रकम हो ।

रकम हस्तान्तरण गर्दै गुरुङ र थापाले रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । तनहुँ समाज हङकङले ग्रामीण भेगको समस्या, अभाव र आवश्यकता अनुसार विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको निवर्तमान अध्यक्ष थापाले जानकारी दिए । उनले विगतमा जस्तै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

करिब १५ लाखको लागतमा निर्माण सम्पन्न हुने आयोजनाका लागि मधुरे गैह्रा सामुदायिक वन उपभोक्ता समितिले समेत ७ लाख आर्थिक सहयोग गरेको समितिका अध्यक्ष आलेले जानकारी दिए । रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका तनहुँङ्गेको सहयोग र जनश्रमदानबाट आयोजना सम्पन्न हुने समितिका उपाध्यक्ष ज्याम बहादुर थापाले जानकारी दिए ।

आयोजना अन्तर्गत ५ हजार क्षमताका ४ वटा ट्याङकी निर्माण हुदैछ । उक्त आयोजनाबाट ७५ घरघुरी, एक विद्यालय र स्वास्थ्य चौकी समेतलाई एक एक धारा वितरण गरिने अध्यक्ष आलेको भनाई छ ।

You might also like

Comments are closed.