तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आजदेखि

आर्थिक आवाज

तनहुँ । तेश्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुक्रबारदेखि शुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा नेपाल मगर संघ तनहुँ, तमु ह्यूल छोंजधिं तनहुँ, नेवा खल तनहुँ, दुरा समाज तनहुँ, बोटे समाज तनहुँ, नेपाल तामाङ घेदुङ तनहुँ, कुमाल समाज तनहुँ, दरै समाज तनहुँ, भुजेल समाज तनहुँ, चेपाङ समाज तनहुँ, राई समाज तनहुँ र थकाली समाज तनहुँको सह आयोजनामा व्यास नगरपालिका वडा नम्बर ३ बिपी बनवाटिका दमौलीमा महोत्सव हुन लागेको हो ।  मंसीर १० गतेसम्म हुने महोत्सवको प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नेछन् ।

‘अमूल्य भाषा, सस्ंकृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ हुने महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्दैै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सव संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन् ।

महोत्सवमा २३० स्टल रहनेछन् । महोत्सव मूल आयोजक समितिकी संयोजक घर्तीका अनुसार विभिन्न खानाका स्टल १८, आदिवासी जनजातिका खानाका स्टल ८, आदिवासी जनजाति सम्बन्धी जानकारी दिने स्टल १, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शन स्टल ६, आदिवासी जनजातिका हस्तकलाका स्टल ८, कृषि उत्पादनका बिक्री तथा प्रदर्शन स्टल १२, अटो स्टल ८, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री स्टल १२५, विभिन्न घरेलु तथा हस्तकला उत्पादनका प्रदर्शनी तथा बिक्री स्टल २०, सेवामूलक संस्थाका प्रदर्शनी स्टल १०, कम्प्यूटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा बिक्री स्टल, महोत्सव सूचना केन्द्र १ र अन्य विविध ६ वटा स्टल रहने छन् ।

महोत्सवमा तनहुँका स्थानीय उत्पादनहरु सुन्तला, अदुवा, मास, तरकारी, रेशम, महलगायत बिक्रीका लागि राखिनेछ । महोत्सवमा सांस्कृतिक झाँकीहरु, हरेक दिन कुनै एक जनजातिको भेषभूषा तथा सांस्कृतिक नृत्य प्रस्तुत, लोकप्रिय तथा चर्चित कलाकारहरुको प्रस्तुती, आदिवासी जनजातिका सांस्कृतिक कार्यक्रम टाकटुके, लाखे, कौराहा, पाउँदुरे, मारुनी, छ्याड्डो, झ्याउरे, सोरठी, घाटुलगायतको प्रतियोगितात्मक प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवको अवसरमा होमस्टे प्याकेज घोषणा गरिएको छ । जस अन्तर्गत महोत्सव पुगेका पर्यटकलाई सस्तो दरमा होमस्टेमा बस्ने व्यवस्था गरिनेछ भने बेलुका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । त्यस्तै आदिवासी जनजातिका होमस्टे घुमाउने, मादी र सेतीमा ¥याफ्टिङ गराउने लगायतका कार्यक्रम पनि रहने संयोजक घर्तीले जानकारी दिइन् ।

महोत्सवमा पुग्ने पर्यटकलाई तनहुँका धार्मिक तथा ऐतिहासिक पर्यटकीय केन्द्रहरु प्रसिद्ध धार्मिक स्थल देवघाट, छाब्दी वाराही, ढोर वाराही, अकलामाई, थानिथान, वसन्तपुर, मूल वाराही, छिम्केश्वरी, जामे मस्जिद, बुद्ध विहारसहित पहाडकी रानी भनेर चिनिने बन्दीपुरकोसमेत अवलोकन गर्ने व्यवस्था गरिने उनले बताइन् । यसैगरी सांस्कृतिक नमूना ग्राम भ्रमण अन्तर्गत दुम्सी, दरैगाउँ, कुमालटारी, वोटेगाउँ, मानुङकोट, भादगाउँ, निर्वु, मिछुर्लुङ, टुटेपानी, हिलेखर्क, खैरेनीटारको दगाम, दुलेगौंडाको भुजिकोटलगायतका पौराणिक ठाउँहरुको पनि भ्रमण गराइने उनले जानकारी दिइन् ।

महोत्सव प्रवेशका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । तर विद्यार्थीका लागि सहुलियत दिदै ३० रुपैयाँ र बृद्ध बृद्धाहरुका लागि निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको संयोजक घर्तीले जानकारी दिइन् । महोत्सवको स्वदेशी तथा विदेशी गरी करिब ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने आयोजकको दावी छ । महोत्सवबाट करिब २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको घर्तीले बताइन् । बचत रकम सांस्कृतिक संग्रहालय निर्माण, कार्यालय भवन निर्माण, हाट बजार व्यवस्थापन तथा आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणमा खर्चिने उनलेजानकारी दिइन् ।

You might also like

Comments are closed.