‘तिर्खा’ जेठ ९ गतेदेखी मञ्चन हुने

 

सन्देश श्रेष्ठ

पोखरा, जेठ ४

पोखरामा जेठको दोश्रो साताबाट नाटक ‘तिर्खा’ मञ्चन हुने भएको छ । पोखरा थियटरको गन्धर्व नाटक घरमा जेठ ९ गतेदेखि नाटक ‘तिर्खा’ मञ्चन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जेठ २५ गतेसम्म मञ्चन हुने सो नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नाटक ‘तिर्खा’को परिकल्पना तथा निर्देशन चे शंकरले गर्दैछन् । राजधानी काठमाडौंमा रहेर नाटकमा जमेका चे शंकरले पोखरेली कलाकारलाई लिएर नाटक गरेका हुन् । सन २०११ बाट नाटक निर्देशन शुरु गरेका चे शंकरले एक दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् ।

नाटकमा पोखरेली कलाकारहरु शरद भण्डारी, रमेशबाबु तिमिल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय रहने चे शंकरले जानकारी दिए ।

नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको नाटक निर्देशक चे शंकरले बताए । मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ ।

नाटक बीसौं शताब्दीका महान नाटककार न्यू ईंगल्याण्डका युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टीलगायतका दर्जनौं नाटक लेखेका छन् ।

नाटक ‘तिर्खा’ले पोखरेली दर्शकको मन जित्ने चे शंकरले विश्वास व्यक्त गरे । नाटक सफल वा असफल भन्ने कुरा पोखरेली दर्शकको हातमा रहेको उनको भनाई थियो । जुनसुकै काम गर्दापनि काम गर तर फलको आशा नगर भन्ने चलन छ–उनले भने,‘तर निष्ठापूर्वक इमान्दार भएर काम गर्ने हो, हेरौं भोलि के हुन्छ यसको परिणाम ? ।’

नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई पनि देखाइने जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको चे शंकरले स्पष्ट पारे ।

You might also like

Comments are closed.