तिहारमा देउसी भैलो : अस्वाभाविक दक्षिणा नदिऔ

सन्देश श्रेष्ठ
पोखरा, २० कात्तिक ।

नेपालीको दोश्रो ठूलो चाड तिहार घर÷घरमा भित्रिसकेको छ । तिहारमा फूलको सजावटले घरै सुन्दर र शोभायमान देखिन्छ भने वत्तिको झिलिमिलीले उज्यालो हुन्छ । फूल र वत्ति मात्र होइन देउसी र भैलोले तिहारमा रौनकता थप्छ । तिहारमा खेलिने देउसी र भैलो नेपालीको संस्कृति हो । यसको छुट्टै महत्व छ ।

तिहार सांस्कृतिक पर्व हो । दिदीवहिनीले दाजुभाईलाई सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भाइटीका लगाइदिने चलन छ । तर त्यत्तिमा मात्र सिमित छैन तिहार । तिहारको लक्ष्मी पूजाको दिन र त्यसको भोलिपल्ट खेलिने देउसी र भैलो पनि आशिष दिने परम्पराको निरन्तरता हो । जसरी दिदीबहिनीले दाजुभाईलाई सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भाइटीका लगाई दिन्छन् त्यसरी नै देउसी र भैलो खेल्दा पनि घरबेटीलाई आशिष दिने गरिन्छ । यसको मतलब देउसी र भैलो मनोरञ्जन मात्र होइन संस्कृति पनि हो र आशिष दिने परम्पराको निरन्तरता पनि हो ।

तर पछिल्लो क्रममा यसमा पनि विकृति भित्रिएको छ । देउसी भैलो तिहार शुरु हुनु भन्दा पहिलेदेखी नै खेल्न शुरु गर्ने, राती अबेरसम्म खेलेर सुतेका मान्छेलाई डिस्टर्ब गर्ने, सडक नै अबरुद्ध गरेर देउसी भैलो खेल्ने, कम दक्षिणा दिनेलाई धेरै दक्षिणा दिनका लागि दवाब दिनेलगायतका बिकृति देखिएका छन् । जुन नेपाली संस्कृति बिपरित छ । किनकी देउसी भैलोमा स्वेच्छिक दक्षिणा दिने हाम्रो परम्परा हो ।

नेपालमा ५१ रुपैयाँ भन्दा बढी दक्षिणा दिन र लिन नहुने कानूनी प्रावधान छ । तर यो कार्यान्वयनमा आइसकेको छैन । यसअघीका तिहारमा जिल्ला प्रशासन कार्यालयले तोकिएको भन्दा दक्षिणा नदिन सूचना नै जारी गर्ने गरेका थिए । तर यस वर्ष जिल्ला प्रशासन कार्यालयले त्यस्तो सूचना जारी गरेको छैन । कास्कीमा दक्षिणा दिन र लिन स्वेच्छिक छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यति नै भनेर दक्षिणाको रकम नतोकिएको बताए । उनले भने,‘हामीले दक्षिणालाई स्वेच्छिक रुपमा छाडेका छौं, तर यसको मतलव अस्वाभाविक रुपमा दिइएको पाइए कार्वाही हुन्छ ।’ तिहारलाई भड्किलो बनाउने र फजुल तरिकाले दक्षिणा दिने÷लिने प्रचलन नबनोस् भनेर कडा निगरानी गरिने उनले बताए । अस्वाभाविक उपहार वा दक्षिणा दिइएको पाइए समातेर कार्वाही गरिने उनले जानकारी दिए । साथै धेरै दक्षिणा दिन दवाब दिने देउसी भैलो समूहको पनि निगरानी राखेर कानूनी कार्वाही गरिने प्रजिअ बुढाले बताए । निगरानीका लागि नेपाल प्रहरीसहित सुरक्षा निकायका अन्य अंगलाई पनि प्रयोग गरिएको उनले जानकारी दिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले तिहारमा खेलिने देउसी भैलोलाई मर्यादित बनाउन र तडकभडक हुन नदिन जिल्ला सुरक्षा समितिको निर्देशनमा प्रहरी टोली टोल÷टोलमा खटाइएको जानकारी दिए । सार्वजनिक हित बिपरित सडक नै अबरुद्ध गरेर देउसी भैलो खेल्ने वा देउसी भैलो टोलीलाई अस्वाभाविक दक्षिणा दिने तथा दिनलाई दवाब दिनेलाई कानूनी कार्वाहीको दायरामा ल्याउने उनले बताए । उनले भने,‘कसैले पनि कानून बिपरित कार्य गर्नु हुँदैन, कानूनी प्रावधान बिपरित कार्य गरेको पाइए हामी त्यसलाई तुरुन्त नियन्त्रणमा लिएर कार्वाही गर्छौं, त्यसका लागि हामीले प्रहरी खटाइसकेका छौं ।’

पोखरा उद्योग वाणिज्य संघले पनि तिहारलाई भड्किलो बनाउन नहुने बताएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले तिहारमा खेलिने देउसी भैलो संस्कृति भएकाले खेल्नुपर्ने तर त्यसलाई भड्किलो बनाउन नहुने बताए । उनले कानूनमा उल्लेख दक्षिणा लागू गर्नुपर्ने बताउँदै त्यसमा पोखरा उद्योग वाणिज्य संघ सदैव सहयोगी बन्ने बताए । यद्वपी यसका लागि प्रशासनले भूमिका खेल्नुपर्ने उनले बताए ।

नागरिक समाज पनि देउसी भैलोलाई कम खर्चिलो बनाउनुपर्ने पक्षमा उभिएको छ । नागरिक समाजका अगुवा रामबहादुर पौडेल कानूनले तोकेको ५१ रुपैयाँलाई देउसी भैलोमा पनि लागू गर्नुपर्ने बताउँछन् । उनी भने,‘पर्वलाई पैसामा बिक्री गर्नु हुँदैन, तिहारमा खेलिने देउसी भैलो संस्कृति हो, यसलाई कम खर्चिलो बनाउन कानूनले तोकेको दक्षिणा लागू गर्नुपर्छ ।’ उनले यो लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई आफूहरुले दवाब दिइरहेको बताए ।

You might also like

Comments are closed.