दमौलीमा आधुनिक ‘बस टर्मिनल’ बन्ने

तनहुँ , १ माघ ।
तनहुँको व्यास नगरपालिका–१ करङकाठमा अवस्थित बसपार्कमा अत्याधुनिक बस टर्मिनल निर्माण हुने भएको छ । संघीय सरकार अन्तर्गतको सहरी विकास तथा भौतिक योजना मन्त्रालयको ३ करोड १५लाखको लागतमा बस टर्मिनल निर्माण हुने इन्जिनियर सुवर्ण श्रेष्ठले जानकारी दिए । टर्मिनलमा ४६ वटा बस पार्किङ गर्न मिल्नेछ ।

अबको १८ महिनाभित्र निमार्ण सम्पन्न हुने उक्त बस टर्मिनल निर्माणको जिम्मा कान्छाराम कन्स्ट्रक्स प्रालिले लिएको छ । सुविधा सम्पन्न उक्त टर्मिनल भवन साढे दुइ तल्लाको निर्माण हुनेछ । साथै बसपार्क भित्र ११ वटा ब्यवस्थित सपिङ स्टल, फुटपाथ र गार्डन समेत निर्माण हुने बताइएको छ ।

उक्त बस टर्मिनलको मंगलबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिलान्यास गरे । टर्मिनल निर्माण हुने स्थल र सँगै रहेको बुल्दीखोला समान दुरीमा भएकाले टर्मिनल भवनलाई उच्च भागमा निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । “हाल सञ्चालित बसपार्क व्यवस्थित नहुदा निकै समस्या परेको गुनासो आइरहेको हुदाँ व्यवस्थित बसपार्क सञ्चालनमा आएपछि यात्रु तथा यातायात व्यवसायीलाई सहज हुनेछ न्यौपनेले भने” ।
अहिलेको बसपार्कमा पक्की संरचना नभएकाले बर्षायाममा हिलाम्मे र हिउंदमा धुलोको समस्या भइरहेको छ ।

You might also like

Comments are closed.