तनहुँ, ३ चैत
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले प्रथम तनहुँ मौलिक कौराह नृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ । नयाँ वर्ष तथा चैते दशैको अवसरमा यही चैत २८ देखी ३० गतेसम्म कला संस्कृति र मौलिकताको आधार व्यवसाय प्रवद्र्धनको पूवार्धार भन्ने नाराका साथ आयोजना गरिने कौराह नृत्य प्रतियोगिता बारे आइतबार दमौली पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
कला संस्कृतिको जर्गेना गर्दै व्यवसाय प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको एकाईका सभापति राजकुमार श्रेष्ठ राकु ले जानकारी दिए । तनहुँको धार्मिक, सांस्कृति र पर्यटकीय महत्वको प्रचारप्रसार समेतको उद्देश्य राखेर हामीले कौराह नृत्य प्रतियोगिता आयोजना गरेका हौं उनले भने । आम्दानीको लागी भन्दा पनि कला संस्कृति र व्यवसाय प्रवद्र्धन गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उनले प्रष्ट पारे ।
प्रतियोगितामा आज देखी २७ गते दिनको ३ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रवेश शुल्क रु. २ हजार तोकिएको छ भने १० देखी २० जनासम्मको टिम बनाएर प्रतियोगितामा भाग लिन सकिने आयोजकले जनाएको छ । प्रस्तुतीको लागी एक समूहले १५ मिनेटको समय प्राप्त गर्नेछन् । ३० गते विशेष निर्णायकमण्डलले प्रस्तुतीको आधारमा विजेता छनोट गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितालाई रोचक ढंगले प्रस्तुत गर्न सहभागी जातजातिबाट छुट्टाछुट्टै प्रतिस्पर्धा गराई सबैको समूहबाट एक टिमलाई विजेता बनाइ फाइनलमा लगिने आयोजकले निर्णय गरेको छ । अलग अलग जातिका बिचमा दमौलीको फरक फरक चोकमा प्रतिस्पर्धा गराइने आयोजकले । प्रतियोगितामा मगर , गुरुङ, दरै र मिश्रित समुदायका बिच प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले रु ५० हजार, द्धितीय हुने ३० हजार, तृतीय र सान्त्वना हुनेले क्रमश २० र १० हजार प्राप्त गर्ने छन् । मौलिक कौराह नृत्य प्रतियोगिता तर्फ हालसम्म तनहुँमै सर्वाधिक पुरस्कार राशीको भएको आयोजकले दावि गरेको छ । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले यो प्रतियोगिता तनहुँको संस्कृति जोगाउने अभियानमा सफल हुने विश्वास व्यक्त गर्दै कौरा, चुड्का, पाउदुरे, बालन जस्ता विभिन्न जातजातीका कला र संस्कृतिलाई संरक्षण गर्ने दायित्व व्यवसाय क्षेत्रको पनि भएको बताए ।
अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा तउवा संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालक एकाईका सचिव दधिराज घिमिरेले गरेका थिए ।
Comments are closed.