दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट बास्तोला सम्मानित

पोखरा । प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार रवीन्द्रप्रसाद बास्तोला सम्मानित भएका छन् । स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित तथा पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारबाट बास्तोला सम्मानित भएका हुन् ।

पोखरामा मंगलबार आयोजित एक विशेष समारोहमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान पत्र, दोषल्ला अर्पण गर्दै बास्तोलालाई सम्मान गरे भने पुरस्कार स्थापना गर्ने पालिखे परिवारका जेठा छोरा विश्वशंकर पालिखेले नगद, बुहारी सुनयना पालिखेले माला र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अवीर लगाएर सम्मान गरेका थिए । सम्मानित बास्तोला पोखराबाट प्रकाशित हुने हिमदूत राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुन् । विगत २३ वर्षदेखि उनी पत्रकारितामा सकृय छन् ।

पुरस्कारको राशी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, दोषल्ला र सम्मान पत्र रहेको छ । यसअघी ३३ हजार ३ सय ३३ रुपैयाँ राशीको यो पुरस्कार यस वर्षदेखि २२ हजार २ सय २२ रुपैयाँ थपेर ५५ हजार ५ सय ५५ रुपैयाँको बनाइएको हो ।

पत्रकारिता पुरस्कार ग्रहण गर्दै उनले पुरस्कारले आफूलाई पत्रकारितामा लागिरहनका लागि ऊर्जा थपेको बताए ।

कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले साउनको अन्त्यसँगै पत्रकारले न्यूनतम पारिश्रमिक पाईनँ भन्ने अवस्थाको अन्त्य गर्ने सरकारले प्रतिबद्धता जनाएकाले अबदेखि पत्रकारले त्यस्तो पीडा नपाउने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नेपाली पत्रकारिताको संरक्षण, सभ्य र स्वतन्त्र पत्रकारिताको ज्ञारेन्टी हुनेगरी मात्र मिडिया काउन्सिल विधेयक ल्याउन आग्रह गरे । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रभावकारी भूमिका खेलिदिन ज्ञवालीले आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पत्रकारितामा शुद्धिकरण आवश्यक रहेको बताउँदै सत्यतथ्यका आधारमा कलम मात्र चलाउन पत्रकारलाई सुझाव दिए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सामाजिक रुपान्तरण र प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय दयाशंकर पालिखेको महत्वपूर्ण योगदान रहेको बताउँदै उनको योगदानको कदर प्रजातन्त्रको रक्षा गर्न सकेमात्र पूरा हुने बताए ।

पालिखे परिवारका सदस्य तथा स्वर्गीय दयाशंकर पालिखेका बुहारी सुनयना पालिखेले आफ्ना ससुरा बुबाले दिएको योगदान चिरस्थायी रुपमा स्मरण भइरहोस् र समाज रुपान्तरणमा लाग्न प्रेरणा प्रदान गरोस् भन्ने उदेश्यले ससुरा बुबाको नाममा पुरस्कार स्थापना गरेको र यो निरन्तर चलिरहने बताइन् ।

कार्यक्रममा स्वर्गीय दयाशंकर पालिखे र पुरस्कृत व्यक्तित्व रवीन्द्र बास्तोलाको परिचय प्रतिभा छनौट समितिका संयोजक नारायण कार्कीले गरेका थिए ।

स्वर्गीय दयाशंकर पालिखे प्रजातन्त्र सेनानी हुन् । उनले प्रजातन्त्र र समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएका थिए । उनकै पहलमा पोखरा उद्योग वाणिज्य संघ स्थापना भएको हो भने उनले शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका थिए ।

पोखरेली आमा उत्तराकुमारीको नाममा ‘नारी सम्मान’ घोषणा

यसैबीच पालिखे परिवारले ‘आमा उत्तराकुमारी पालिखे नारी सम्मान’ कोषको घोषणा गरेको छ । स्वर्गीय पोखरेली आमा उत्तराकुमारी पालिखेको स्मृतिमा पालिखे परिवारले सो पुरस्कार अर्पण गर्ने भन्दै अक्षयकोष घोषणा गरेको हो । स्वर्गीय दयाशंकर पालिखेकी धर्मपत्नी उत्तराकुमारी पालिखेको ६ महिना अघि निधन भएको थियो ।

स्वर्गीय दयाशंकर पालिखे पत्रकारिता सम्मान २०७६ अर्पण समारोहमा बोल्दै पालिखे परिवारकी सदस्य सुनयना पालिखेले सम्मानका लागि रु २ लाख ५० हजारको अक्षयकोष घोषणा गरेकी हुन् । अक्षयकोषबाट प्राप्त रकमले समाज रुपान्तरण र परिवर्तनको पक्षमा योगदान दिने एक जना महिलालाई वार्षिक रुपमा २५ हजार नगदसहित सम्मान पत्र र दोषल्लाले सम्मान गरिने उनले बताइन् । सम्मान पोखराबाट प्रशारण हुँदै आएको रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले सञ्चालन गर्ने उनले घोषणा गरिन् । उनका अनुसार रेडियोको वार्षिकोत्सवको दिन बैशाख १२ गते सो पुरस्कार अर्पण गरिनेछ ।

स्वर्गीय बुबा दयाशंकर र आमा उत्तराकुमारी पालिखेका छोराहरु विश्वशंकर, बिनोदशंकर र बिकासशंकरका परिवारले संयुक्त रुपमा पुरस्कार घोषणा गरेका हुन् ।

बास्तोलाले घोषणा गरे शिक्षा पत्रकारिता पुरस्कार

स्व.दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५ बाट सम्मानित रबिन्द्र बास्तोलाले शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । उनले आफ्ना बुबा विश्वरमण बास्तोला र स्वर्गीय आमा रेवती बास्तोलाको नाममा ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’े घोषणा गरेका हुन् ।

पुरस्कारका लागि उनले स्व.दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५ बाट प्राप्त रकम ५५ हजार ५ सय ५५ रुपैयाँ बिउ पुँजीका रुपमा अक्षयकोष घोषणा गरे । साथै उनले अक्षयकोषमा थप रकम पछि घोषणा गर्ने बताए । पुरस्कार सञ्चालनको जिम्मा पत्रकार महासंघ कास्कीलाई दिने घोषणा गरे ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट शिक्षा क्षेत्रमा कलम चलाई शैक्षिक वातावरण र गुणस्तरीय शिक्षामा योगदान दिने एक जना पत्रकारलाई वार्षिक रुपमा २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गर्ने बताए । उनले पुरस्कारको राशी समयअनुकुल थप्दै जानेपनि प्रतिबद्धता जनाए । पत्रकार बास्तोला पोखरामा रहेको कालिका बहुमुखी क्याम्पस प्रमुख पनि हुन् ।

You might also like

Comments are closed.