दशैंका लागि अग्रिम टिकट खुलाउने तयारी

काठमाडौं – दशैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने विषयमा बुधबार छलफल भएको थियो ।

अग्रिम टिकट बुकिङ खुलाउन पर्याप्त पूर्व तयारी नभएकाले अर्को साता छलफल गर्नेगरी बैठक टुुंगिएको थियो ।

अग्रिम टिकट बुकिङ खुलाउने विषयमा अर्को साता छलफल गर्दैछौं । ‘बुकिङ खुलाउनु पूर्वका तयारी बाँकी छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘अर्को साता भित्रमा आवश्यक तयार पुरा हुनेछ । असोजको पहिला साता भित्रमा बुकिङ खुल्ला हुन्छ ।’

अग्रिम टिकट बुकिङको सन्दर्भमा छलफल गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार बैठक डाकेको छ । महासंघले बैठकबाट गाडीको विवरण तयार पारेर विभागलाई बुझाउने छ । त्यही विवरणका आधारमा अर्को साताको बैठकले अग्रिम टिकट खोल्ने मिति तय हुने महासंघका प्रवक्ता सरोज सिटौलाले बताए ।

बैठकमा व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस थप नभएकाले यात्रुको व्यवस्थापन गर्न भने कठिन हुने बताएका थिए । ‘अघिल्ला वर्षमा समितिले बसको व्यवस्थापन गर्ने गरेको थियो । यस वर्ष रुपान्तरित कम्पनीमार्फत बस सञ्चालन हुँदैछ । समिति क्रियाशील छैनन ।’ उपत्यकाबाट बाहिरिने बसमा यात्रु भरिभराउ हुन्छन् । तर उपत्यका भित्रिने बस खाली हुन्छन् । यस समस्यालाई सम्बोधन गर्न व्यवसायीले विभागसँग अनुरोध गरेका छन् ।

You might also like

Comments are closed.