दशैंमा पोखरामा २० करोडको फूलको कारोबार, बिउबिजनबाहेक पोखरा फूलमा आत्मनिर्भर

सन्देश श्रेष्ठ

पोखरा । पोखरामा नेपालीको महान चाँड दशैंको अवसरमा २० करोड बराबरको फूलको कारोबार भएको छ । दशैंमा घरको सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि उक्त रकम बराबरको फूलको कारोबार भएको हो ।

दशैंमा घर आँगन सफा गरेर चटक्क पारिन्छ । अनि फूल रोपेर सजाइन्छ । यो नेपाली संस्कृति हो । सदियौंदेखि चल्दै आएको संस्कार अहिलेपर्यन्त यथावत छ । दशैं नजिकिएसँगै सामान्य परिवारदेखि धनाढ्य उद्योगी व्यापारीसम्मले फूल रोपेर बगैंचा सिंगार्ने गर्दछन् । सहरमा जग्गा कम हुनेहरुले कौशीमै भएपनि फुल रोप्दछन् । कौशीपनि नभएकाहरुले घरकै कुनै एक कुनामा भएपनि फूल रोपेकै हुन्छन् । यो नेपालीको सभ्यता हो । अनि संस्कार पनि । यो संस्कार हालसम्म पोखरेलीले छाडेका छैनन् ।

दशैंमा घर÷घरमा फूल लगेर सजाउनेहरुले अत्याधिक रुपमा फूल खरिद गरेर लगेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनका अनुसार होटल, रेष्टुरेण्ट, रिसोर्ट, बैंक तथा वित्तीय संस्थालगायतले पनि फूल खरीद गरेर लगेका छन् । उनका अनुसार कसैले फुलेका फूल लैजान्छन् त कसैले बिउ र बेर्ना ।

दशैंमा पोखरामा सबैभन्दा बढी तिहारेफूल अर्थात सयपत्री (मेरिगोल्ड) फूल बिक्री भएको छ । हेर्दापनि राम्रो र आकर्षक हुनुका साथै जुनसुकै बेलापनि प्रयोग गर्न मिल्ने भएकाले यो फूल बढी बिक्री भएको अध्यक्ष द्वाले बताए । सयपत्री पछि गोदावरी, मखमली, लालुपाते लगायतका फूलहरु बिक्री भएका छन् । त्यस्तै, बाह्रमासे फूल, प्लान्टमा फिस्टेल प्लान्ट, बोटल प्लान्ट अन्य भन्दा धेरै बिक्री भएको द्वाले जानकारी दिए । उनका अनुसार अर्किडको भने दशैंमा खासै डिमान्ड भएन । यो अन्य फुलभन्दा महंगो र स्यार पनि धेरै गर्नुपर्ने भएकाले सर्वसाधारणको रोजाइमा नपरेको उनले बताए ।

पोखरामा अहिले बिक्री भएका सबै फूल पोखरामै उत्पादन गरिएका हुन् । यसअघि पोखरा बाहिरबाट खरीद गर्ने गरिएपनि यस वर्ष शत प्रतिशत फूल पोखरामै उत्पादन भएको अध्यक्ष द्वाले दाबी गरे । यद्वपि फूलको बिउ र बेर्ना भने अझैपनि विदेशबाटै ल्याउनुपर्ने बाध्यता भने नहटिसकेको उनले प्रष्ट पारे ।

पोखरामा यस वर्ष तिहारमा पनि फूलको अभाव नहुने भएको छ । पोखरा महानगरपालिकासहित विभिन्न संघसंस्थाले फूलको बिउ र बेर्ना वितरण गरेकाले फूल खेतीको क्षेत्रफल बढेकाले पोखराका लागि फूल पर्याप्त हुने अध्यक्ष द्वाले बताए । उनका अनुसार यस वर्ष मौषमपनि फूलका लागि अनुकुल भएकाले उत्पादनपनि बढेको छ ।

यसैबीच, फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीले कात्तिक तेश्रो साता पोखरामा गोदावरी मेला आयोजना गर्ने भएको छ । एशोसियसनले तिहारलाई लक्षित गरी आगामी कात्तिक १५ गतेदेखि १८ गतेसम्म गोदावरी मेला गर्न लागेको अध्यक्ष द्वाले जानकारी दिए । एशोसियसनमा ३६ जना पुष्प व्यवसायीहरु आबद्ध छन् । यसबाहेक किसानहरुले मौषमी फुल उत्पादन र व्यापार गर्दै आएका छन् ।

You might also like

Comments are closed.