दाताको भरमा बृद्धाश्रम

तनहुँ १२ चैत
सरकारबाट बजेट उपलब्ध नहुँदा तनहँुको देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रम दाताको भरमा सञ्चालन भईरहेको छ । देवघाट क्षेत्र विकास समिति मातहतको उक्त बृद्धाश्रम सञ्चालनको लागि गत वर्षसम्म सरकारले बजेट उपलब्ध गराएको भएपनि चालु आर्थिक वर्षमा कत्तिपनि बजेट उपलब्ध नगराउँदा बृद्धाश्रम सञ्चालन गर्न कठिनाई भईरहेको बृद्धाश्रमका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरले बताए ।

सरकारबाट कुनै बजेट प्राप्त नहुँदा बृद्धाश्रम सञ्चालन गर्न दाताहरुलाई गुहार्नु परेको अध्यक्ष घिमिरेले बताए । बृद्धाश्रममा १२ पुरुष सहित ३० जना बृद्धबृद्धा आश्रित छन् । चालु आर्थिक वर्षको आजको दिनसम्म बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा, फलफुल सबै दाताहरुले नै उपलब्ध गराईरहेका छन् ।

अधिकांश दाताहरुले जन्मदिन, पितृहरुको पुण्यतिथी, बैबाहिक वार्षिकोत्सव या अन्य कुनै काम सफलता पाएमा बृद्धबृद्धालाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराईरहेको उनले बताए । देवघाट क्षेत्र विकास समिति संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत रहेपनि बृद्धाश्रम भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित छ ।

गत आर्थिक वर्षसम्म मन्त्रालयले बृद्धाश्रमको लागि वार्षिक ५लाख रुपैयाँ उपलब्ध गराईरहेको थियो । तर यस आर्थिक वर्षमा भने बजेट विनियोजन नभएको अध्यक्ष घिमिरेले बताए । त्यही भएर बृद्धाश्रम सञ्चालन गर्न दाताहरु गुहार्नु परेको उनको भनाई छ । सरकारले चालु आर्थिक वर्षमा कुनै बजेट नदिँदा खर्च विहिन भएको समितिले यस आर्थिक वर्षको पुरै ३ सय ६५ दिनको लागि नै दाता खोजिने कार्यकारी निर्देशक घिमिरेले बताए । यसको लागि विभिन्न व्यवसायी र समाजसेवीहरुलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

हालसम्म देवघाट सहित चितवन भरतपुर, नवलपरासी, गैडाकोट, मुग्लिङ र दमौलीका समाजसेवीहरुले बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न उपलब्ध गराउँदै आएको घिमिरेले बताए । बृद्धाश्रमको भवन निर्माण र मर्मतका लागि देवघाट गाउँपालिकाले ५लाख रुपैयाँ उपलब्ध गराएको र समितिको आन्तरिक कोषबाट ५ लाख रुपैयाँ विनियोजन गरि भवनको तला थप गरिएको भन्दै उनले अव आगामी आर्थिक वर्षदेखी आश्रममा बृद्धबृद्धाको संख्या बढाएर ५० पु¥याउने जानकारी दिए ।

You might also like

Comments are closed.