लमही । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
घोराही–१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो । संस्थानका अध्यक्ष वसन्त गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको केन्द्रका रुपमा निर्माण गर्ने योजना रहेको जानकारी दिए । दूध उत्पादनका दृष्टिकोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दूध सङ्कलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण गरिने योजना राखिएको उनको भनाइ छ ।
कोरोना महामारीका बेलामा बजारमा दूधको खपत अहिले आधा घटेको बताउँदै उनले संस्थानले घाटा सहेर भए पनि कृषकले उत्पादन गरेको दूध खरीद गरी व्यवस्थापन गरिरहेको जानकारी दिए । मुलुकभर संस्थानको दुई लाख लिटर दूध विगतमा खपत हुने गरेकामा हाल त्यसको खपत झण्डै आधा घटेको छ । प्रतिलिटर रु १७ घाटा सहेर पनि कृषकलाई राहत प्रदान गरिएको उनले बताए ।
दूधमा प्रतिलिटर रु ५ मुनाफा आर्जन गरेर विगत वर्षमा ४ करोड रुपैयाँ मुनाफा कमाएको संस्थानले नाफामुखी मात्रै नभई सेवामुखी भएर पनि काम गरिरहेको बताएको छ । दाङका लमही र तलसीपुर क्षेत्रबाट यसअघि सेवा प्रदान गर्दै आएको दुग्ध विकास संस्थानले निकट भविष्यमा घोराही क्षेत्रमा पनि पूर्वाधार निर्माण गरी दुग्ध उत्पादक कृषकको दूध खरीद गर्ने योजनाका साथ काम अघि बढाइएको उनको भनाई छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङका प्रमुख डा वेदबहादुर केसीले प्रशोधित दूध सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने बताए । दुग्ध विकास संस्थानले सरकारले तोकेको मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ ।
Comments are closed.