देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

चितवन, २ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले देवघाट क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । देवघाट संरक्षण प्रतिष्ठानले मंगलबारदेखि देवघाटमा आयोजना गरेको चौंथो ‘बोलो ॐ महोत्सव’को उद्घाटनका क्रममा बोल्दै उनले देवघाट धार्मिक रुपमा महत्वपूर्ण रहेकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।

मन्त्री अधिकारीले देवघाट क्षेत्र विकास समितिले बनाएको गुरुयोजनालाई कार्यान्वयन गर्न सरकारले सक्दो सहयोग गर्ने बताउँदै स्रोतको खोजी गरेर यस क्षेत्रलाई नयाँ तरीकाले विकास गर्ने योजनामा सरकार रहेको जानकारी दिए ।

केही धार्मिकस्थललाई मात्रै केन्द्रीय सरकारको मतहतमा राखेको बताउँदै उनले देवघाट स्थानीय तहमा राख्ने वा प्रदेशमा राख्ने भन्ने विषय केही दिनमा टुङ्गो लाग्ने धारणा व्यक्त गरे । मन्त्री अधिकारीले भने, ‘म यस क्षेत्रलाई संघमा राख्ने प्रस्ताव गर्ने छु तर के हुन्छ भन्न सकिदैन ।’ दुई प्रदेश जोड्ने पर्यटकीय क्षेत्रलाई संविधानतः प्रदेशमा राख्ने व्यवस्था रहेको बताउँदै उनले प्रदेश सरकारको मातहतमा रहे पनि केन्द्रीय सरकारको प्रत्यक्ष निगरानीमा यस क्षेत्रको विकास गरिने बताए ।

प्रदेशसभा सदस्य गीता वाग्ले, रिना गुरुङ, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का केन्द्रीय सदस्य देवी ज्ञावली, समाजसेवी शम्भू उप्रेती, प्रतिष्ठानका अध्यक्ष अम्बिका अधिकारीलगायतले यस क्षेत्रको विकास स्थानीय तह र प्रदेशले मात्रै सम्भव नहुने भएकाले यसलाई संघमा राखेर विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका संयोजक देवीराम घिमिरेले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा देवघाटलाई विकास गर्ने उद्देश्यका साथ ३० फिट अग्लो धातुबाट निर्मित शिवको मूर्ति निर्माणको काम भइरहेको बताउँदै यस क्षेत्रको संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
महोत्सव हरेक वर्ष साउन १ देखि मसान्तसम्म चल्दै आएको छ । विशेष गरी साउनको सोमवार ठूलो संख्यामा तीर्थयात्री देवघाट जाने गर्दछन् । साउनमा देवघाटमा स्नान गरेमा पूण्यप्राप्ति हुने जनविश्वास रही आएको छ । रासस

You might also like

Comments are closed.