
सन्देश श्रेष्ठ
पोखरा, वैशाख २७
गण्डकी प्रदेश सांसद रामजी बराल ‘जीवन’ले बोर्डिङ स्कुललाई सराप्ने संस्कार बदल्न आग्रह गरेका छन् । महेन्द्र मावि पोखरा १९ घार्मीको वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै सांसद बरालले बोर्डिङ स्कुललाई सराप्नु भन्दा अभिभावकको मन किन जित्यो भन्नेतिर बहस गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने,‘वोर्डिङ स्कुलले व्यापार मात्र होइन विद्यार्थी र अभिभावकको मनपनि जितेको छ, त्यसैले बोर्डिङ स्कुललाई सराप्ने संस्कार बदलौं ।’ उनले वोर्डिङ स्कुललाई सराप्नुको सट्टा सामुदायिक विद्यालयलाई बोर्डिङ स्कुल सरहको बनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
बोर्डिङ स्कुललाई व्यापार गरिरहने वातावरण सरकारले बनाइदिएको भन्दै उनले सामुदायिक विद्यालय सुधारका लागि सबै सबैको योगदान आवश्यक रहेको बताए । दोषी वोर्डिङ स्कुल होइन, बरु सरकार हो–उनले भने,‘शिक्षाको व्यापार आफैमा निन्दनीय कार्य हो, तर यो छुट राज्यले नै दिएको हो, त्यसैले अब नया सोंच लिएर अघि बढ्नुपर्छ ।’ सामुदायिक विद्यालयलाई राम्रो बनाउने हो भने बोर्डिङ स्कुललाई सराप्नै नपर्ने उनले दाबी गरे ।
उनले भने,‘भएका सामुदायिक विद्यालयलाई राम्रो बनाऔं न, जनताले आफै वोर्डिङ स्कुल पढाउन छाड्छन्, त्यसैले यहाँ बोर्डिङ स्कुलको होइन बरु सरकार र हामी नै दोषी छौं ।’ उनले विगतमा जवाफदेहीता नहुँदा शिक्षामा अस्तव्यस्तता आएको भन्दै अब दुई तिहाईको जवाफदेही कम्युनिष्ट सरकार आएकाले केहि समयमै शिक्षामा भएको अस्तब्यस्तताको अन्त्य भएर व्यवस्थित र गुणात्मक शिक्षाको शुरुवात हुने बताए ।
सांसद बरालले शिक्षामा आमुल परिवर्तन गर्न आवश्यक रहेको बताए । युग सुहाउँदो शिक्षा आवश्यक छ–उनले भने,‘सीपमूलक शिक्षा नै अहिलेको आवश्यक्ता हो, त्यसतर्फ सबैले ध्यान दिऔं ।’ उनले बुर्जुवा शिक्षाले विदेश पलायन गराइरहेको भन्दै उनले भने,‘देशलाई दक्ष जनशक्ति चाहिएको छ, तर हामीसँग दक्ष जनशक्ति छैन, बुर्जुवा शिक्षाका कारण युवाहरु विदेश पलायन भइरहेका छन्, अब देशमै आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अवलम्वन गर्नुपर्छ ।’
पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले वर्षमा एक दिन ब्यानर बोकेर भर्ना अभियान नहुने भन्दै ३६५ दिननै भर्ना अभियान चलाउनुपर्नेमा जोड दिए । उनले प्राविधिक शिक्षाका लागि वडा कार्यालयले सहयोग गर्ने आश्वासन दिए ।
साथै वडाध्यक्ष पौडेलले बोर्डिङ स्कुलमा छोराछोरी पढाउने अभिभावकले जस्तै सामुदायिक विद्यालयमा पढाउने विद्यार्थीका अभिभावकले पनि आफ्ना छोराछोरीको स्याहारसुसार र पढाईबारे चासो राख्न आग्रह गरे । विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले महेन्द्र माविमा प्राविधिक शिक्षा अध्ययनका लागि प्रयास भइरहेको जानकारी गराए ।
Comments are closed.