दोस्रो होली महोत्सवको तयारी तीव्र

तनहुँ,२ चैत
फागुपुर्णिमाको अवसरमा आगामी चैत ६ गते रोटरी क्लब अफ दमौली , रोटर्याक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबलको संयुक्त आयोजनामा मनाइने दोस्रो होली महोत्सवको तयारी तीव्र पारिएको छ ।  होली महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न आयोजकहरुले छुटाछुट्टै उपसमितिहरु बनाएर कार्य विभाजन गरी तयारीलाई तीव्रता दिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोषकुमार श्रेष्ठले जानकारी दिए ।

रंगको माध्यमबाट एक आपसमा सामाजिक सद्भाव कायम गर्दै फागुपुर्णिमाको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस्ता कार्यक्रमले मनोरञ्जनसँगै स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा समेत टेवा पु¥याउने भएकाले बेला बेलामा जिल्लामा यस्ता कार्यक्रमहरु आयोजना गरिनुपर्ने उनको भनाइ छ ।
महोत्सव सफल पार्न आयोजकले काठमाडौँमा समेत पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराइसकेको छ । त्यस्तै जिल्ला स्थिती विभिन्न संघसंस्था तथा स्थानीय क्लबहरुसँग समन्वय समेत भइरहेको आयोजकले जानकारी गराएको छ । होलीलाई मर्यादित बनाउने सम्बन्धमा स्थानीय प्रशासन, प्रहरीहरुसँग समेत निरन्तर छलफल र अन्तरक्रिया भइरहेको छ । त्यस्तै गरी होलीको टिसर्ट प्रिन्ट, पत्रचार लगायतको केही कामहरु सम्पन्न भइसकेको र प्रचारप्रसार लगायत अन्य कामहरु समेत तीव्र रुपमा भइरहेको बताइएको छ ।

यसै क्रममा आयोजकले शुक्रवार जिल्ला प्रहरी कार्यालयसँग शान्ति र सुरक्षा सम्बन्धी व्यापक छलफल गरेको मूल आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख सिद्धीविक्रम शाहले होली खुशीयाली साटासट गर्ने पर्व भएकाले कसैको इच्छाविपरीत लोला हान्ने, रङ लगाउने, मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा जस्ता क्रियाकलाप नगर्न आग्रह गरे । मेलमिलाप र सदभावनाको सन्देश लिई कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उनको आग्रह थियो । कसैको इच्छाविपरीत शान्तिपुर्ण वातावरण खल्बलिने क्रियाकलाप नगरी हर्षोल्सापूर्वक होली मनाउन जिल्ला प्रहरी कार्यालयको पुर्ण समर्थन रहेको उनले प्रष्ट पारे ।

त्यस्तै आयोजकले कार्यक्रम सम्पन्न गर्न विभिन्न ठाँउबाट आर्थिक संकलन कार्यलाई समेत तीव्रता दिएको छ । तनहुँबाट अध्ययन तथा रोजगारीको सिलशिसलामा देश तथा विदेशमा रहेका जिल्लाबासीबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष श्रेष्ठ जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता समेत समावेश गर्ने आयोजकले तयारी गरेको छ । रंगसँगै घैंटो फुटाई, डोरी तान्ने, म्युजिकल चियर, बच्चाहरुको लागी बेलुन फुटाउने लगायतका खेलहरु पनि महोत्सवमा समाबेश गरिनेछ । बालबालिकाहरु देखी वृद्धाहरु समेत महोत्सवमा आएर रमाउन सक्ने गरी कार्यक्रमको तयारी भइरहेको रोटर्याक्टबाट कार्यक्रमका संयोजक मनोज राउतले जानकारी दिए ।

त्यतिमात्र होइन कार्यक्रमका अन्य आकर्षणामा स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रम, जुम्वा र एरोबिक्स, डिस्को जक्की सहितको गीत संगीत र नाच, विभिन्न परिकारका खानाका स्टलहरु, म्यूजिकल रेन डान्स, फेस पेन्टिङ, ब्यास नगरपालिकाको अग्नी नियण्त्रण सम्यन्त्र प्रदर्शनी समेत लगायतका रहेका छन्  होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

You might also like

Comments are closed.