दोहोरी, पञ्चेबाजा र नृत्यका बिजेतालाई उत्कृष्ट पुरस्कार

सोवित पौडेल
संयोजक, सांस्कृतिक उपसमिति

राष्ट्रिय औद्योगिक व्यापार मेला पुस १८ देखि २८ गतेसम्म हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने मेलामा पञ्चेबाजा, लोकदोहोरी र नृत्य प्रतियोगिता हुँदैछ । प्रतियोगिताका सन्दर्भमा केन्द्रित रहेर संघका कार्यसमिति सदस्य एवं सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय औद्योगिक व्यापार मेलामा हामीले चर्चित तथा उत्कृष्ट कलाकारहरुलाई स्टेजमा उतार्दैछौं । स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमासमेत ख्यातिप्राप्त कलाकार उतारेर महोत्सवलाई भव्य र मनोरञ्जनात्मक बनाउने प्रयास गरेका छौं । महोत्सवमा हामीले यस पटक काले दाई, कालेदाई….की गायीका मिना निरौलादेखि राज सिग्देलसम्मलाई स्टेजमा उतार्छौं । लोकदोहोरीतर्फ पशुपति शर्मादेखि पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुलीसम्मलाई स्टेजमा उतारेर मनोरञ्जन दिलाउने छौं ।

महोत्सवको अवसरमा हामीले राष्ट्रिय पञ्चेबाजा प्रतियोगिता आयोजना गर्दैछौं । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संस्कृतिको संरक्षण गर्दै दर्शकहरुलाई मनोरञ्जन दिलाउने उद्देश्यले हामीले यो प्रतियोगिता गर्न लागेका हौं ।

त्यस्तै राष्ट्रिय एकल नृत्य प्रतियोगिता पनि हामीले महोत्सवको अवसरमा आयोजना गर्दैछौं । महोत्सवमा होमस्टेदेखि बाल उद्यानसम्म हुने भएकाले महोत्सवमा संस्कृति संरक्षण गर्दै उपस्थित दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिलाउने छौं ।

यस पटक हामीले हरेक प्रतियोगिताका बिजेतालाई पुरस्कारमा पनि प्राथमिकता दिएका छौं । राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा बिजेताहरुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशःनगद ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट महिला र उत्कृष्ट पुरुषलाई पाँच पाँच हजार रुपैयाँ पुरस्कारसहित सम्पूर्णलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नेछौं ।

राष्ट्रिय पञ्चेबाजा प्रतियोगिताका बिजेताहरुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ । राष्ट्रिय खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ ।

You might also like

Comments are closed.