पोखरा, २२ असार ।
प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारवाट स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखावाट संचालित दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०७५ बाट अग्रज पत्रकार धर्मेन्द्र झा सम्मानित हुने भएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झालाई उक्त सम्मान प्रदान गर्नको लागि प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई महासंघ कास्की शाखाको शुक्रवारको वैठकले अनुमोदन गरेको हो । ताम्रपत्र, दोसल्ला तथा नगद ३३ हजार ३ सय ३३, बाट झालाई सम्मान गरिने छ ।
अग्रज पत्रकार माधव शर्माको संयोजकत्वमा गठन भएको छनौट समितिमा नारायण भट्टराई र दुर्गा वराल वात्सायन सदस्य थिए । महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना समितिको पदेन सदस्य रहेका थिए ।
छनौट समितिका संयोजक शर्माले पत्रकारिता र प्रजातन्त्रको पक्षमा योगदान दिएका देशभरका पत्रकारहरुको सूचीवाट झालाई पुरस्कार अर्पणको लागि छनौट गरिएको वताए ।
हालको लहान नगरपालिका १४ सिरहामा जन्मेका झाले २०४४ मा जनकपुरवाट प्रकाशित जनआकांक्षा साप्ताहिकवाट पत्रकारितामा प्रवेश गरेका हुन् । विसं २०६५ देखी ६८ सम्म झाले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले । हाल उनी स्वतन्त्र पत्रकारको रुपमा गोर्खापत्र दैनिक लगायतका मिडियाहरुमा स्तम्भ लेख्दै आएका छन् भने विभिन्न ट्रेनिङ तथा वर्कसपहरुमा सहजीकरण समेत गर्दछन् । उनी फ्रिडम फोरमको महासचिव हुन् । उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्यसमिति सदस्य भएर समेत काम गरे । हाल उनी जनकपुरधाम उपमहानगरपालिका वडा नं २ मा वस्दै आएका छन् ।
त्यसैगरि वैठकले शाखाका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ तथा सचिव नवराज सुवेदी अस्वस्थ भएकोले सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
Comments are closed.