धार्मिक पर्यटन प्रवद्र्धन अभियानमा लक्ष्मी ग्रुप

सुरेन्द्र पौडेल
पोखरा ।
नेपालको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान लक्ष्मी ग्रुपले धार्मिक पर्यटन प्रवद्र्धन गर्न पोखराको विन्ध्यबासिनी मन्दिरमा लिफ्ट बनाउने भएको छ । स्थापनाको ४५औं वर्ष प्रवेशको अवसरमा गत पुस ५ गते ग्रुपले मन्दिरमा सुविधासम्पन्न लिफ्ट बनाउने घोषणा गरेको हो ।

मन्दिरमा जाने बृद्धबृद्धा तथा अशक्तहरुलाई पनि सजिलो होष भन्ने उद्देश्यले ग्रुपले लिफ्ट निर्माण गर्न लागेको हो । लिफ्ट बनाउने सम्झौतापत्रमा समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पबित्र राज रेग्मीले हस्ताक्षर गरेका छन् । ८० लाख रुपैयाँ लगानीमा ग्रुपले लिफ्ट बनाउन लागेको हो ।

‘हामीले वर्षेनी सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आइरहेका छौं,’ श्रेष्ठले भने, ‘यस पटक विन्ध्यबासिनी मन्दिरमा लिफ्ट बनाएर नयाँ रचनात्मक कामको सुरुवात गरेका हौं ।’ मन्दिर जाने क्रममा लिफ्टबाट हिमालय क्षेत्र, पोखरा तथा आसपासको दृश्यावलोकन समेत गर्न सकिनेछ । समूहले यस अगाडि समितिलाई एम्बुलेन्स सहयोग गरेको थियो ।

वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरेली युवा साँस्कृृतिक परिवारलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले परिवारका अध्यक्ष दीपक समीपलाई चेक हस्तान्तरण गरेका हुन् । २०३० सालमा ५ किलो चिनीबाट मिठाइ बनाउन सुरु गरेको लक्ष्मी ग्रुप अन्तर्गत अहिले १० वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । ग्रुपमा १ हजार ६ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको श्रेष्ठले बताए ।

समूहले छिट्टै सिमेन्ट उद्योग तथा पर्यटन क्षेत्रमा पनि लगानी गर्ने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । ‘हामीले उत्पादन गरेका स्तरीय सामानले हामीलाई बजारमा स्थापित गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रा उत्पादन उत्कृष्ट छन् र उपभोक्ताको मन जितेका छौं ।’ उद्योगबाट उत्पादित प्रडक्टको स्तरीयता परीक्षण गर्न ल्याबोरेटरी सुरू गरिएको उनले बताए । उद्योगले नै देशको समृद्धि र रोजगारीको अबसर सिर्जना गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले लगानीका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरामा ४ जना कर्मचारीलाई सम्मान गरेको छ । कर्मचारीहरु प्रलादभक्त कायस्थ, टीकाराम बस्ताकोटी, सुकदेव गिरी र भुवन आचार्यलाई सम्मान गरिएको हो । यसैगरी वार्षिकोत्सवको अवसरमा ग्रुपले कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ । उक्त अवसरमा १ सय ७ जनाले रक्तदान गरेका छन् । विभिन्न कार्यक्रम गरी समूहले काठमाडौंमा पनि वार्षिकोत्सव मनाएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.