धितालमा एकीकृत पाठ्यक्रम प्रशिक्षण सम्पन्न

 

हेमजा ।

माछापुच्छ्रे गाउँपालिका ६ स्थित धितालमा आधारभूत तह अन्र्तगत कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमबारे प्रशिक्षण सम्पन्न भएको छ ।

पोखरा स्थित नेलम्बो नेपाल र वडा कार्यालयको संयुक्त आयोजना तथा माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखाको सहयोगमा तीन दिने प्रशिक्षण आइतवार सम्पन्न भएको हो ।

जसमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भण्डारी, शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारी, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले शिक्षक अध्ययनशिल हुनुपर्नेमा जोड दिए । संसारमा पछिल्लो पटक के–के कुरा प्रतिपादन भइरहेका छन्, कुन खालको प्रविधि विकसित भइरहेको छ, बालबालिकाले के खोजिरहेका छन्, आजको आवश्यकता के हो भन्ने पक्ष बुझ्न शिक्षक अध्ययनशिल हुनैपर्ने उनको ठोकुवा छ ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्था स्थापनादेखि नै माछापुच्छ्रे गाउँपालिकासँग सम्बन्ध गासेको स्मरण गराउँदैे सिकेको सीप कार्यक्षेत्रमा गएर प्रयोग गर्न पनि सहभागिलाई सुझाव दिए ।

वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले शिक्षाको आधार आधारभूत तह भएकाले त्यसलाई मजवुत बनाउनुपर्ने बताए । विद्यार्थी संङख्या कमीका कारण धितालका ३ आधारभूत विद्यालय मर्ज भएको उदाहरण पेश गर्दै अध्यक्ष ढुङ्गानाले मावि पनि मर्ज गर्ने परिस्थती नआओस् भन्दै सचेत समेत गराए ।

कार्यक्रममा वराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङ, भुमेश्वर माविका शिक्षक रामचन्द्र दवाडीले पनि भनाई राखेका थिए ।उनीहरुले तालिम फलदायी बनेको चर्चा गरे । तालिममा धितालका कुल ६ विद्यालयका १७ शिक्षकको सहभागिता थियो ।

You might also like

Comments are closed.