नक्कली ईन्सपेक्टर बनेर धम्क्याउने आचार्यलाई बालगृहमा सुत्ने र घाम ताप्ने सुविधा

आर्थिक आवाज

पोखरा, १० पुस । नक्कली ईन्सपेक्टर बनेर महिलालाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रेमप्रसाद आचार्यलाई बालगृहमा सुत्ने र घाम ताप्ने सुविधा दिएको भन्दै पीडितले गुनासो गरेका छन् । पीडित बिन्दा थापाले आफूलाई धम्क्याउने आचार्यलाई कस्टडीमा राखेर अनुसन्धान गर्नुको सट्टा जिल्ला प्रहरी कार्यालय कास्कीको बालगृहमा सुत्ने र बगैंचामा गएर घाम ताप्ने सुविधा दिएकोप्रति आपत्ति जनाएकी हुन् । उनले प्रश्न गर्दै भनिन्, ‘३५ वर्षीय आरोपी आचार्यलाई बालगृहमा किन राखियो? बगैंचामा किन घाम ताप्न दिइयो ? ।’ उनले दोषीलाई खुलेआम छाडेर प्रहरीले पीडितलाई थप पीडा दिएको बताइन् ।

प्रहरी हिरासतमा रहेका आचार्यले गत शुक्रबार विहान पोखरा गैह्रापाटनकी बिन्दा थापालाई थापा बस्ने कोठामा गएर आफू वडा प्रहरी कार्यालय बैदामको प्रहरी निरीक्षक (ईन्सपेक्टर) भएको भन्दै धम्क्याएका थिए । पीडित थापाले पोखराको मिरुवामा रहेको नेपाल एग्रो माइक्रो फाइनान्सबाट लिएको रकम नतिरेको आरोप छ । उनले सो माइक्रो फाइनान्सबाट ९० हजार ऋण लिएकी थिइन् । २ किस्ता गरेर २० हजार तिरिसकेपछि पनि फाइनान्सले तारन्तार रकम तिर्न दवाब दिदै आएको थियो । तर थापाले केही समयपछि तिर्ने भन्दै आएपछि आचार्यले ईन्सपेक्टर भएर पैसा तिर्ने भए तिर, नत्र पैसा दिइनस भने तेरो छोरालाई जे पनि हुनसक्छ भन्दै धम्क्याएका थिए ।

साथै आचार्यले मोबाइलमा म्यासेज गरेरसमेत धम्क्याएको पीडित थापाले जानकारी दिइन् । श्रोतका अनुसार आचार्यलाई यो सुविधा दिएको प्रति प्रहरी भित्रै असन्तुष्टी छ । यद्वपि राजनीतिक दवाबमा एसपी ओमबहादुर रानाको निर्देशनमा आरोपी आचार्यलाई यो सुविधा दिइएको श्रोतको दाबी छ । आचार्यलाई मंगलबार फेरी ३ दिनको समय थप गरी अनुसन्धान जारी राखिएको कास्की प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.