नक्कल गरेर प्रचण्ड बन्ने सपना नदेख्न विप्लवलाई प्रचण्डको सुझाव

पोखरा, २७ फागुन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर प्रचण्ड बन्ने सपना नदेख्न विप्लवलाई सुझाव दिएका छन् । प्रेस संगठन कास्कीले सोमबार पोखरा एयरपोर्टमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विप्लवले आफ्नो नक्कल गरिरहेको आरोप लगाउँदै यो पार लाग्ने विषय नभएको टिप्पणी गरे । विप्लवलाई आफूले नै स्कुलिङ गरिरहेको बताउँदै उनले भने,‘हामीले २५ वर्ष अगाडि गरेको कुरालाई उहाँले अहिले नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने विषय होइन ।’

विप्लवले उपद्रो मच्चाई राखे राज्य चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन् । उनले विप्लव नेतृत्वको नेकपाले उपद्रो र विध्वंस मच्चाउने क्रम नरोके राज्य चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपाले द्वन्द्व नत्यागे देश र विप्लव नेतृत्वको नेकपाकै लागिपनि राम्रो नहुने बताउँदै उनले भने,‘गणतन्त्र संस्थागत गर्ने र यसमार्फत समाजवाद को आधार निर्माण गर्नुपर्ने बेलामा द्वन्द्व गर्दा कसैलाई पनि फाइदा हुँदैन, त्यो देशका लागि पनि र पार्टीका लागि पनि ।’

अध्यक्ष प्रचण्डले सरकारले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतलाई सहमति गरेर मूलधारको राजनीतिमा ल्याएकाले आशंका गरिरहन नपर्ने बताए । आफ्नो सिंगो समूहलाई छलफल गरेर मूलधारमा जाने तयारी नपुग्दा जनकपुरमा पृथकतावादी सोंच अन्तर्गत स्वतन्त्र मधेशको नारा लागेको हुनसक्ने भन्दै यसैका आधारमा अन्यथा सोंच्न नहुने उनको भनाई थियो । उनले प्रधानमन्त्री र गृहमन्त्रीलेसमेत जनमत संग्रह गर्ने भनेको होइन भनिसकेकाले यसमा अल्झन नहुने बताए । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सिके राउतसँग नदाँजेको भए हुन्थ्यो भने । तुलनाहरु सबै लंगडो हुने बताउँदै उनले भने,‘मूल धारमा आउने निर्णयलाई साहसिक भएको कारणले होला प्रधानमन्त्रीजीले सिके राउतलाई मसँग तुलना गर्नुभएको, मूल धारमा आए भने त ठिकै होला, भोलि धोका दिएभने त्यो निर्णय क्षमता हुँदैन, त्यो धोका हुन्छ ।’

प्रचण्डले स्वर्गिय रविन्द्र अधिकारीको कास्की क्षेत्र नम्बर २ मा रविन्द्रकै परिवारलाई उठाउने सम्भावना रहेको बताए । सबै पक्षलाई हेरेर पार्टीले उपयुक्त निर्णय गर्ने बताउँदै उनले भने,‘रविन्द्रजीको परिवारपनि राजनीतिक परिवार नै हो, नेतृत् वगर्न सक्ने क्षमता भएको उहाँको जीवन संगीनी विद्याजी हुनुहुन्छ, कास्की पार्टीले के भन्छ, यी सबै कुरालाई हेरेर पार्टीले निर्णय लिन्छ ।’

प्रचण्डले सरकारबिरुद्ध बिपक्षीले प्रचार युद्ध गरिरहेको आरोप लगाए । पार्टी एकता भएदेखी नै एउटा वर्गले अधिनायकवाद भन्दै भ्रमको खेती गरिरहेको बताउँदै उनले भने,‘हिजो पार्टी एकताको घोषणा भएकै दिनदेखी भ्रमको खेती गरेकै हुन् अधिनायकवाद आयो भनेर, यो क्रम अहिलेपनि गरिरहेकै छन् प्रचार युद्धको रुपमा ।’

अध्यक्ष प्रचण्डले सरकार सफलतातिर उन्मुख भएपनि चुनावमा भनेका धेरै कुराहरु पूरा गर्न नसक्दा गुनासाहरु भने आइरहेको बताए । सरकार र नेकपाप्रति जनताको आशा र भरोस झन् बढेको बताउँदै उनले भने,‘सरकारले कामै गरेन भनेर जति प्रचार गरेपनि केहि फरक परेको छैन, चुनावमा गरेका बाचा अनुसार तिव्र रुपमा काम नहुँदा केहि गुनासाहरु आएका छन्, सरकार र नेकपाप्रति जनताको अपेक्षा र आशा म¥यो भन्ने सत्य होइन, बरु झन् बढेको छ ।’

You might also like

Comments are closed.