नयनको जन्मदिनमा सामाजिक काम, कुँवर दम्पतीले लिए २ बालकलाई पढाउने जिम्मा

पोखरा, २० चैत ।

कुँवर नयन फाउण्डेशन पोखराका अध्यक्ष चन्द्रबहादुर कुँवर तथा प्रवन्ध निर्देशक लता थापाले २ विद्यार्थीलाई पढाउने जिम्मा लिएका छन् । उनीहरुमादी गाउँपालिका–५ का २ विद्यार्थीको अभिभावक बनेका हुन् । आफ्नी छोरी नयन कुँवरको आठौं जन्मोत्सवको अवसरमा कुँवर दम्पत्तिले मादी–५ का मन्दिप नेपाली र विनित थापाको अभिभावकत्व ग्रहण गरेका हुन् । नेपाली बमचन्द्र कला आधारभूत विद्यालयको कक्षा ५ मा र थापा विद्याज्योती आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत छन् ।

मंगलबार मादीको बमचन्द्र कला आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा २ विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दैे नेपाली र थापाको एसइइ सम्मको अध्ययनमा सघाउने घोषणा गरे । उनीहरूका लागि कुँवर दम्पत्तिले वार्षिक १०÷१० हजार रुपैयाँ सहयोग गर्नेछन् । जसअन्तर्गत मंगलबार नेपाली र थापालाई जनही १०÷१० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

कुँवर नयन फाउण्डेशन पोखराका अध्यक्ष चन्द्रबहादुर कुँवरले नेपाली र थापाले राम्रो अध्ययन गरे, मेहनत गरे उच्च शिक्षा अध्ययनका लागि पनि सघाउने प्रतिवद्धता जनाए । उनले विपन्न वर्गका बालबालिकाले पनि पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले आफूले नयाँ कार्यको थालनी गरेको बताए ।

े आफ्नो व्यवसायबाट हुने आम्दानीको केही अंश कुँवर नयन फाउण्डेशन मार्फत शिक्षा क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको कुँवरले वताए । अध्यक्ष कुँवरले जन्मदिन मनाउने शैली परिवर्तन गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रयास गरेको र आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने स्पष्ट पारे ।

फाउण्डेशनका प्रवन्ध निर्देशक लता थापाले अहिलेसम्म विभिन्न संघसंस्थामा आवद्ध भएर धेरै कार्य गरेको तर अभिभावकत्व ग्रहण गर्दा जत्तिको आनन्द कहिल्यै प्राप्त नभएको बताइन् । उनले सबै उद्योगी व्यवसायीले १÷१ जना विपन्न वर्गका छोराछोरीको अभिभावकत्व ग्रहण गर्ने हो भने कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपर्ने स्पष्ट पारिन् ।

अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष समेत रहेका कुँवर विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध छन् । उनी पोखराको नयाँबजारस्थित कुँवर व्रदर्श एण्ड सन्सका सञ्चालक समेत हुन् । उनी पोखराका सफल व्यवसायी मानिन्छ ।

कुँवर दम्पत्तिलाई मादी पुर्याएर २ बालकको अभिभावकत्व ग्रहण गर्नमा समन्वय गरेका नेपाली कांग्रेसका युवा नेता भानु ढकालले शिक्षाबाट कोही पनि बञ्चित बन्न नहुने बताए । उनले कुँवर दम्पत्तिमा शिक्षा क्षेत्रमा केही गर्छु भन्ने भवना पलाउनु निकै सराहनीय कार्य भएको भन्दै सबैले उहाँहरूबाट शिक्षा लिनुपर्ने र उहाँहरुको कामको सिको गर्नुपर्ने खाँचो औंल्याए ।

बमचन्द्र कला आधारभूत विद्यालयका संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुइँकेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य पार्वती राना, शिक्षिका विद्या अधिकारी र विद्याज्योती आधारभूत विद्यालयका शिक्षक सूर्यप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.