आर्थिक आवाज
पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी छ । मेलामा शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने संघका महासचिव तथा प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले जानकारी दिए ।
मेलाअन्तर्गत आइतबार आधुनिकतर्फ सन्तोष बस्याल, बबि सुनार, निष्कर्ष ब्याण्डको प्रस्तुति रहनेछ । लोकदोहारीतर्फ शिरिष देवकोटा, सरला पाण्डे, तारापति सुवेदी, निशा पोखरेल, निश्चल थापा मगर, कमला गैरेको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए । हाँस्य प्रस्तुतिमा दीपक थापाले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
मेलामा औद्योगिक क्षेत्रका उद्योगहरुबाट २० वटा स्टलसहितको छुट्टै पेभेलियन, हस्तकलाका २३, गलैँचा, बैंक तथा वित्तीय क्षेत्र, फ्लोरिकल्चर सहितका झण्डै २ सय ७० वटा स्टल छन् । यी स्टलमार्फत अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधीहरुको प्रदर्शन गरिएको छ ।
मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको छ । विद्यार्थीहरुको लागि परिचयपत्रको आधारमा प्रवेश टिकटको शुल्क ४० रुपैयाँ कायम गरिएको छ । सिमकार्ड लिनको लागि अवलकोकनकर्ताले आफ्नो नागरिकताको फोटोकपी र एउटा फोटो भने ल्याउनुपर्नेछ ।




Comments are closed.