पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरुले भरिभराउ भएको छ । लेकसाइडमा सडकदेखि होटलसम्म सबै भरिभराउ भएको छ ।सडकमै खाऔं, सडकमै नाँचौ, सडकमै रमाऔं मूल नाराका साथ बिगत २१ वर्षदेखि हँुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले सबैको मन तानेको छ ।
लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झै सिगारिएको छ । महोत्सवका प्रमुख आकर्षणहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, सहासिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेका प्रचार प्रसार संयोजक विश्वराज पौडेले जानकारी दिए ।
जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगर लगायत महोत्सवका आकर्षण रहेको पौडेलले जानकारी दिए । सडक महोत्सव अन्तर्गत पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकार र हास्य कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका थिए ।
मंगलबार लोकदोहोरी तर्फ भुमिका गिरी, पार्वती जिसी, तुलसा क्षेत्री, दिलु लामा, राजु परियार, कुमार पुन, चोलेन्द्र पौडेल र राजन कार्कीले प्रस्तुति दिए । हास्यकलाकार पुरुषोतम भण्डारी (पुर्खे बा)ले सबैलाई हसाएका थिए । लाइभ कन्सर्टतर्फ राजु लामा मंगोलियन हार्ट र कर्मा व्याण्डको प्रस्तुतिमा नयाँ वर्ष २०२० लाई स्वागत गर्ने छ ।
महोत्सवको अन्तिम दिन सम्झना भण्डारी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली, भीमा मगर, पशुपति शर्मा, तारापति सुबेदी, तारानाथ आचार्य, शिबहरि ढुङगाना, माधव चापागाई, गगन गुरुङ, हस्यकलाकार मेरी बास्सैका निमली र प्याकुलीको प्रस्तुति रहने छ ।
Comments are closed.