नयाँ व्यवस्थापनबाट पुनः सुरु भयो मेलोडी क्याफे

आर्थिक आवाज
पोखरा । मेलोडी क्याफे एण्ड लाउञ्ज बार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पूर्ण रुपमा सञ्चालनमा आउने शनिबार पोखरामा क्याफेका बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा क्याफेका अध्यक्ष सुरेश पहारीले जानकारी दिए ।

बदलिंदो समय, ग्राहकको रोजाइमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै मेलोडी क्याफे एण्ड लाउञ्ज बारलाई परिमार्जन गरि सञ्चालनमा ल्याउन लागेको उनले बताए । १ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरुको लगानी छ । यसअघि मेलोडी क्याफेकै संस्थापक सदस्य रहेका गायक विनोद वानियाँ, होटल व्यवसायी तथा चलचित्र निर्माता सुरेश पहारी र फ्रेञ्चाइजी रेष्टुरेण्ट बाजेको सेकुवा पोखराका सञ्चालक एकराज गिरीको क्याफेमा लगानी छ ।

‘विशेषगरि पोखराको केन्द्र मानिने चिप्लेढुङ्गा महेन्द्रपुल क्षेत्रमा यस व्यवसायमा देखिएको सुस्ततालाई जगाउने गरि हामीले क्याफेको सञ्चालन गरेका छौं,’ क्याफेका सञ्चालक एकराज गिरीले भने ‘हामीलाई विश्वास छ हामी ग्राहकको मन जित्न सक्षम हुनेछौं ।’ विगतमा साँझ मात्रै गजल रेष्टुरेण्टका रुपमा सञ्चालित क्याफे अब विहानको बे्रकफास्टबाटै खुल्ला रहने छ । नयाँ व्यवस्थापन आएपछि क्याफे विहानको ब्रेकफास्ट तथा दिँउसोको खाजाका लागि पनि खुल्ला रहने क्याफेका सञ्चालक तथा गायक विनोद बानियाले जानकारी दिए ।

‘परिकारमा मिठासको मेलोडी, जमघटमा अविस्मरणीय मेलोडी, संगीतमा पुर्नतार्जगीको मेलोडी हाम्रो प्रयास रहने छ,’ बानियाले भने, ‘व्यवसायसंगै सामाजिक उत्तरदायित्वका कामलाई पनि हामीले प्राथमिकतामा राखेका छौं ।’ उनले क्याफेले प्रदान गर्दै आएको मेलोडी अवार्ड भदौ महिनामा प्रदान गर्ने गरि तयारी थालिएको पनि जानकारी दिए । संगीतमा साधनारत स्रष्टाको सम्मानका लागि स्थापित मेलोडी अवार्डबाट यसअघि गीतकार तीर्थ तामाङ, संगीतकार सुनिल थापा सम्मानित भइसकेका छन् ।

क्याफेको शुभारम्भको अवसरमा हरेक साँझ ख्याती प्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक रहने छ । दैनिक सांगीतिक कार्यक्रमका लागि संगीतमार्फत पोखरालाई चिनाउन सफल गायक विनोद बानिया, इतु जोजिजू लगायतका कलाकारको प्रस्तुति रहने छ । क्याफेले कार्यालय र काममा व्यस्त रहने ग्राहकलाई मध्य नजर गरी मेलोडी नाइन्टी नाइन स्किम पनि ल्याएको छ । जसमा खाजाको प्याकेज जम्मा रुपैयाँ ९९ मा उपलब्ध हुने क्याफेका सञ्चालक एकराज गिरीले जानकारी दिए ।

भाद्र १ देखि ७ गतेसम्म शुभारम्भको मिति तोकेको क्याफेले यस अवधीमा ग्राहकलाई मेनुमा विशेष छुट तथा सांगीतिक कार्यक्रममा ग्राहकका रोजाइका कलाकारलाई निम्त्याउने जनाएकोछ ।

You might also like

Comments are closed.