नवौं पोखरा महोत्सवको तयारी अन्तिम चरणमा

आर्थिक आवाज

पोखरा, २४ पुस । पोखराको अमरसिंहचौरमा हुने ‘पोखरा महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड क्लव पोखराको आयोजनामा यहि पुष २७ गतेदेखी माघ ८ गतेसम्म हुने नवौं पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक युनाइटेड क्लव पोखराले जानकारी दिएको हो ।

“युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापना भएको क्लवले आयोजना गर्ने महोत्सवमा यस वर्ष २ सय ५० स्टल रहने क्लवले जनाएको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सव स्थानिय कला, संस्कृती, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई समृद्धीतर्फ लम्काउने उद्धेश्यले आयोजना गरिएको क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए । महोत्सवमा सुचना प्रविधिकोे जानकारी, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानिय स्तरमा उत्पादित वस्तुको बजारीकरण, स्थानियदेखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराइने उनले बताए ।

महोत्सवमा विभिन्न जात जातिका कला संस्कृति प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सुचना प्रविधिहरुको प्रदर्शनी एवम् जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा बिक्री, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवम् जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंक्षीको प्रदर्शनी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला लगायतका गतिविधीहरु समेत महोत्सवमा समावेश गरिने प्रथम उपाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड, लोकल ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती, हास्य ब्यङ्ग्य तथा प्रहसन, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, नेपाली संस्कृति झल्कने प्रस्तुतीका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समावेश हुने प्रथम उपाध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार साँझमा दीपक बज्राचार्य, पुस्पन प्रधान, लाहुरे, दि एक्स ब्याण्ड, भिटेन, १०७४ एडी, मङ्की टेम्पल, मेलिना राई, त्रिशला गुरुङ, दि एज ब्याण्डसहित स्थानिय व्याण्डहरुको प्रस्तुती रहनेछ । यसैगरी दिउँसोमा लोकदोहोरी गायक गायीकाहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल ओली, रामजी खाँड, राधिका हमाल, प्रिती आले, चोलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहाललगायतका कलाकारहरुको प्रस्तुती रहने उनले बताए ।

महोत्सवमा आउने दर्शकलाई सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित ब्यवस्था, वाइ–फाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरिवतास तथा हुलदंगाबाट क्षेति भएमा बिमा, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था र पार्किङको उचित ब्यवस्था गरिने क्लवले जनाएको छ ।

महोत्सवको अवसरमा युनाइटेड क्लव पोखराको अगुवाईमा निर्माणाधीन पोखरा जुलोजिकल पार्क घुमाइने भएको छ । महोत्सवमा आउने दर्शकलाई पोखरा वडा नम्बर ३०, ३१ र ३२ मा निर्माण भइरहेको पोखरा जुलोजिकल पार्क घुमाइने भएको हो । दैनिक रुपमा तालिका मिलाएर बसमा चढाएर जुलोलिजक पार्क लगिने युनाइटेड क्लव पोखराका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्क निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

२ लाख ५० हजार दर्शकले अनुमान गर्ने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि टिकट दर ८० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीलाई ६० रुपैया टिकट दर कायम गरिएको क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए । महोत्सवमा अपाङग, बृद्धबृद्धा, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए ।

१ करोड २६ लाख १० हजार आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सवमा अनुमानित ८७ लाख ५० हजार खर्च हुने र ३८ लाख ६० हजार बचत गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । शुरुवातदेखि नै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माणसँगै सेती नदी संरक्षण र सौर्यबत्ती जडान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.