पोखरा, ३२ जेठ
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको साधारण सभाको उद्घाटन शत्रमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पत्रकारले आफ्नो दायित्व पूरा नगर्ने हो भने राज्यको चौथो अङ्ग हुन नसक्ने बताएका छन् । पत्रकारिताको नाममा व्यक्तिको अधिकार कुण्ठित गर्न हुँदैन र पाईन्न पनि–उनले भने,‘बरु नागरिकको अधिकार संरक्षण गर्नका लागि पत्रकारको कलम चल्नुपर्छ, यदी यसो भएन भने पत्रकार राज्यको चौथो अङ्ग हुन सक्दैन ।’ उनले पत्रकारले राज्यबाट जे अपेक्षा गरेको हुन्छ त्यो अनुसारको दायित्वपनि पत्रकारले राज्यप्रति पूरा गर्नुपर्ने उनको भनाई थियो ।
मन्त्री गुरुङले संघीयता अनुसार संरचना बनेको भ्रम नपाल्न सबैलाई आग्रह गरे । उनले अहिले संघीय प्रणाली अनुसार संरचना बनाइएको भन्दै प्रदेश स्तरीय संरचना बनाइएपनि स्वायत्तता नदिई उहि केन्द्रीय संरचना अनुसारकै शाखाका रुपमा बनाइएकाले संघीयता अनुसार संरचना बनाइएको भ्रम भए त्योबाट मुक्त हुन सुझाव दिए । उनले हालसम्मपनि कुनैपनि संघसंस्थाले संघीयता अनुसारको संरचना नबनाएको ठोकुवा गरे । उनले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट ‘उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने उद्धेश्यबाट निर्देशित भएर ल्याउन लागेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले मिडिया काउन्सिलबिरुद्ध शुरु भएको आन्दोलन माग पूरा नभएसम्म कुनैपनि हालतमा सम्झौतामा नटुंगिने र फिर्तापनि नहुने घोषणा गरे । तर कन्टेन्टमा रहेर कमजोरी देखिएमा भने कमजोरी सच्याउन महासंघ तयार रहेको उनको भनाई थियो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्माले पत्रकार महासंघको आन्दोलनमा कांग्रेसको समर्थन रहेको बताए ।
नयाशक्ति पार्टी गण्डकी प्रदेश संसदीय दलका नेता रामशरण आचार्यले सूचनालाई ताल्चा लगाएको लोकतन्त्र आफूहरुले नचाहेको भन्दै यदी त्यस्तो अवस्था आए आफ्नो दल चुप लागेर नबस्ने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले पत्रकारको आफ्नै हर्कत र कमजोरीले पत्रकारिता जगतलाई नै आक्षेप लगाउने काम भइरहेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए । उनले पत्रकारको शुद्धिकरण अभियान शुरु भएको र आफ्नै पालामा गण्डकी प्रदेशमा त्यो सफल गरेरै छाड्ने उद्घोष गरे ।
कार्यक्रममा आगलागिपछि बन्द भएको सामुदायिक रेडियो पर्वतलाई ३ लाख १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको पहलमा अमेरीकाबाट ईञ्जिनियर भीष्म पौडेलले पठाएको ३ लाख र पोखरा सिड्नी समाजका महासचिव दीपक पहारीले पठाएको १० हजार रुपैयाँ रेडियोका अध्यक्ष भोलानाथ शर्मालाई हस्तान्तरण गरिएको थियो ।
Comments are closed.