नाटक ‘अटलबहादुरको आतंक’ मञ्चन तयारी पुरा

 

पोखरा, ५ साउन ।

पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा साउन ७ गते सोमबारबाट मञ्चन हुन लागेको नाटक अटलबहादुरको आतंकको मञ्चन तयारी पुरा भएको छ । आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नाटक साउन ७ गते सोमबार साँझ ५ बजेबाट साउन १६ गतेसम्म पोखरा गैह्रापाटनको गन्धर्व नाटकघरमा दैनिक मञ्चन हुनेछ । शनिबार अतिरिक्त सो १ बजे हुनेछ भने थिएटरसँगको समन्वयमा बुकिङ सो समेत देखाउने तयारी भएको आयोजकले जनाए ।

खगेन्द्र लामिछानेको लेखन निर्देशनमा मञ्चन हुन लागेको नाटकले दर्शकको मन जित्नेमा निर्देशक लामिछाने ढुक्क छन् । आफुले पोखराबाटनै नाट्य क्षेत्रको यात्रा अगाडी बढाएको स्मरण गर्दैे उनले पोखरामा नाटकघर खोल्ने आफुले सपना देखेको भएपनि आर्थिक कारण सम्भव नभएको खुलासा गरे । आफ्नो सपनालाई पोखरा थिएटरले पुरा गरेकोमा उनले खुशी व्यक्त गरे । ‘थिएटरको लगानी जोखिममा छ, विदेशमा सरकारले सहयोग गर्छ तर नेपालमा त्यस्तो छैन’ उनले भने । उनले असार ३ गतेदेखि दिनरात खट्दै नाटकलाई उत्कृष्ट बनाउन मेहनत गरिरहेका छन् । नाटकको टिमले गरेको मेहनतका कारण नाटक उत्कृष्ट बनेको उनले बताए । लामिछानेले २०५७ सालमा प्रतिबिम्ब नाटक समुहमा आवद्ध भएर पोखराबाट नाट्य क्षेत्रको यात्रा सुरु गरेका थिए ।

गुरुङ फिल्म एशोसियसनका संस्थापक अध्यक्ष माओत्से गुरुङले यो नाटकबाट पोखराको नाट्य क्षेत्रमा सकारात्मक तरंग ल्याउदै दर्शकको माया बटुल्ने अपेक्षा व्यक्त गरे । कलाकार प्रकाश घिमिरेले पोखराको नाट्य क्षेत्रप्रतिको अथाह माया र दर्शकको साथले आफुहरुमा जोश बढेको बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको नाट्य क्षेत्रलाई अगाडी बढाउन मिडिया क्षेत्रबाट सदैव साथ रहने भन्दै सफलताको शुभकामना दिए । चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेलले पोखरा थिएटरको स्थापना पश्चात पोखरामा नाट्य गतिविधि बढ्दै गएकोले यसको निरन्तरताको लागि सबैको साथ आवश्यक पर्ने बताए । पत्रकार सम्मेलन पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीको अध्यक्षतामा भएको थियो ।

परिवर्तन कार्कीको संयोजनमा मञ्चन हुने डेढ घण्टा लामो नाटकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्द रमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, बबिता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सुर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, भुर्व रोका, धिरेन्द्र पुन, प्रतिक घिमिरेको अभिनय हेर्न पाइनेछ ।

गन्र्धव नाटकघर सञ्चालनमा आएपछि यहाँ १६ वटा विभिन्न नाटक मञ्चन भइसकेका छन् । जसमा पोखरा थिएटरको प्रस्तुतीका दुई नाटक सिरुमारानी र वितेका कुरा, नाटक महोत्सवमा थाङ्ला, एन्टिगोनी, सान्नानीको सन्ते राजा, भर्जिन कथा, एक चिहान, नारी शिक्षा, चाँदिको घेरा, पानिघट्ट, जयगान, सखि, कथा नहि भेटल मञ्चन भए । पोखरा थिएटरसँगको सहकार्यमा मान्दोगोरा सर्कस, जिउदो आकाश र कुरुप हाँस समेत यहाँ देखाइयो । गन्धर्व नाटकघर गएको फागुन महिनाबाट सञ्चालनमा आएको हो ।

You might also like

Comments are closed.