नाटक महोत्सवमा रङ्गकर्म र चलचित्रका विषयमा बहस चर्काचर्की, पानीघट्टलाई दर्शकको वाह्वाही

पोखरा, १४ चैत ।

पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा जारी राष्ट्रिय नाटक महोत्सवमा मङ्गलबार नेपाली र रङ्गकर्म र चलचित्रका विषयमा भएको बहसमा चर्काचर्की भएको छ ।

विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजित बहसमा निर्देशक नवीन सुब्बाले परम्परागत रङ्गमञ्चीय कर्ममा परिवर्तन ल्याउनुपर्ने तर्क गरिरहँदा कलाकार अरुणा कार्कीले सबै कुरा परम्पराबाटै सिकेको हुनाले त्यही गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो आजको नाटक पनि भरतमुनिको नाट्यशास्त्रकै निर्देशनमा अघि बढिरहेको छ’ सुब्बाले भने, ‘अब रङ्गमञ्च होस् वा चलचित्र हामीले आफूलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । यथास्थितिवादबाट बाहिर निस्कनुपर्ने भन्दै हाम्रो सोचाइको शैलीमै परिवर्तन ल्याउनुपर्ने सुब्बाको भनाइ थियो ।

कलाकार कार्कीले आफूले चलचित्र पैसाका लागि खेल्ने र रङ्गमञ्चमा काम गर्दा सन्तुष्टि प्राप्त गर्ने बताईन् । उनले चलचित्रमा आफ्नोपन भेट्न नसकिने तर रङ्गकर्ममा दालमोठ चिउरा भए पनि पारिवारिक वातावरणमा खाइने भएकाले पनि आफ्नो जस्तो लाग्ने विचार ब्यक्त गरिन् । बहसमा सहभागी चलचित्र र रङ्गमञ्चका अध्येता सुवर्ण थापाले प्राकृतिक र यथार्थ अभिनयको महत्व नेपाली कलाकारले बुझ्न नसकेको आरोप लगाए । नाटक भनेपछि नाटक नै हुनुपर्ने भन्दै सिनेमा र नाटक भनेको भिन्न चिज भएको बताए । उनले नाटक चाहिँ सिनेमा जस्तो र सिनेमा नाटक जस्तो हुनु बिडम्बना भएको भनाइ ब्यक्त गरे । प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले रङ्गमञ्च दिवसको सन्देश वाचन गरेको कार्यक्रमको सहजीकरण डा. सचिन घिमिरेले गरेका थिए । कार्यक्रममा महोत्सवका संयोजक पुष्कर गुरुङले नेपालमा सन् २००० देखि हरेक वर्ष मार्च २७ मा रङ्गमञ्च दिवस मनाउन थालिएको जानकारी दिए ।

यसै बीच, मङ्गलबार मञ्चित मञ्जरी नाट्य समूह, लमजुङकोे प्रस्तुति रहेको नाटक ‘पानीघट्ट’लाई दर्शकले अत्यधिक रुचाएका छन् । पुरु लम्सालको लेखन र निर्देशन रहेको नाटकमा लमजुङको ठाडो भाका र पानीघट्ट संस्कृतिको चित्रण गरिएको छ । युवाहरु विदेसिएकाले गाउँमा लास बोक्न पनि महिला र केटाकेटी अघि सर्नुपरेको मार्मिक कथाले दर्शकका आँखा रसाएका थिए । गाउँले जीवनका हँस्यौलीले दर्शकले समेत हाँसो रोक्न सकेका थिएनन् । नाटकमा समावेश गरिएको लमजुङे ठाडो भाकालाई दर्शकले पुनः गाउन अनुरोध समेत गरेका थिए । नाटक सकिएपछि दर्शकले बजाएको लामो तालीले पानीघट्टलाई दर्शकले अत्यधिक मन पराएको निष्कर्ष पोखरा थिएटरका अध्यक्ष परिवर्तनले प्रस्तुत गरे ।

सोही अवसरमा डा. अशोक थापाको १४२ ओटा कृतिका समीक्षा समेटिएको कृति ‘किताबै किताब ः समीक्षा सिद्धान्त र प्रयोग’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपनि सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ, साहित्यकार सरुभक्त र प्राज्ञ हरिदेवी कोइरालाले संयुक्त रुपमा विमोचन गरेका थिए । कृतिमा १२ ओटा समीक्षा नाटककै विषयमा रहेका डा. थापाले जानकारी दिए ।

हिमाली सांस्कृतिक परिवारको प्रस्तुतिमा चेतन कार्कीको लेखन र मेनकाजी गुरुङको निर्देशन रहेको ‘नारी शिक्षा’ र सद्भाव थिएटरको प्रस्तुतिमा नरेश भण्डारीको लेखन र टीकाभक्त जिरेलको निर्देशन रहेको ‘चाँदीको घेरा’ पनि मञ्चन गरिएको थियो ।

महोत्सवका अन्तिम दिन बुधबार बिहान ८ बजे पोखराको रङ्गमञ्च ः अबको बाटो विषयमा पोखरा थिएटरका अध्यक्ष परिवर्तन, सांसद पियारी थापा, साहित्यकार मन क्षेत्री र युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलबीच पत्रकार वासु मिश्रले बहस चलाउने छन् । दिउँसो १ बजे ओेथेलो नाटक समूह पोखराको प्रस्तुतिमा कृष्ण उदासीको लेखन र आशिष अधिकारीको निर्देशनमा जयगान र ५ बजे लोक सञ्चार जनकपुर र सिल्पी थिएटरको प्रस्तुतिमा रमेशरञ्जन झाको लेखन र घिमिरे युवराजको निर्देशनमा सखी नाटक मञ्चनसँगै महोत्सवको समापन हुने छ । बिहीबार महोत्सवको समीक्षा गरिने महोत्सवका संयोजक पुष्कर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.