नायिका नीताले गरिन् शुभयात्राको शुभारम्भ (फोटो फिचरसहित)

पोखरा । लेकसाइडको पहिलो व्यावसायिक मल लेकहोराइजनमा शुभयात्रा हाइकिङ स्टोर्स सञ्चालनमा आएको छ । नायिका नीता ढुंगानाले सोमबार उक्त स्टोर्सको शुभारम्भ गरिन् । ढुंगानासँगै फेसन डिजाइनर उत्तम बनेपाली, नायक प्रज्ज्वल सुजल गिरी र मलका अध्यक्ष हर्कबहादुर शेरचनले रिबन काटेर स्टोर्सको संयुक्त शुभारम्भ गरेका हुन् ।

१२ वर्ष विदेश बसेर फर्किएका युवा हेमराज अधिकारीले सञ्चालनमा ल्याएको स्टोर्समा १ करोड ५० लाख रुपैयाँको लगानी छ । हाइकिङ र ट्रेकिङका लागि चाहिने सम्पूर्ण सामग्री बिक्री गर्ने स्टोर्स शुभारम्भपछि नायिका नीताले आफूलाई ट्रेकिङ मनपर्ने कारणै शुभयात्राको शुभारम्भका लागि पोखरा आएको बताइन् ।

 

शुभयात्रा हाइकिङ चेनस्टोर्सका रुपमा विस्तार हुने र २ वर्षभित्र काठमाडौं र तारेहोटलहरुमा गरी ४ वटा ब्रान्च थप्ने स्टोर्सका सञ्चालक अधिकारीले जानकारी दिए । लेक होराइजन मलका प्रबन्ध निर्देशक सुनील शेरचनले मलले ब्रान्डेड र गुणस्तरीय व्यापारका लागि काम गर्ने बताए । ‘एक वर्षभित्र ३६ कोठासहित छतमा स्विमिङ पुल राखेर आकर्षक होटल सञ्चालनमा ल्याउने हाम्रो योजना छ,’ उनले भने । विदेशी ब्रान्डेड ट्रेकिङ सामग्री राखेर सञ्चालनमा आएको शुभयात्रा हाइकिङ स्टोर्सले शुभारम्भको अवसरमा ३० प्रतिशत छुटसमेत दिएको छ ।

You might also like

Comments are closed.